
दक्षिण भारतीय फिल्म उद्योगबाट एउटा दुखद् खबर आएको छ । आफ्नो अद्वितीय लवज र उत्कृष्ट कमिक टाइमिङका लागि परिचित साउथ अभिनेता फिश वेन्कट (वेन्कट राज)को निधन भएको छ । उनले शुक्रबार साँझ हैदराबादस्थित एक अस्पतालमा अन्तिम सास लिएका हुन् । लामो समयदेखि मिर्गौला रोगको उपचार गराइरहेका उनी ५३ वर्षका थिए ।
मिर्गौला फेल भएका कारण वेन्कटले नियमित डायलिसिस गराइरहेका थिए । केही दिनदेखि भने उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनलाई मिर्गौला प्रत्यारोपणको आवश्यकता थियो, जसका लागि अभिनेता द्वय पवन कल्याण र विश्वक सेनबाट आर्थिक सहयोग समेत मिलेको थियो । तर, मिर्गौला लिन ‘म्याचिङ डोनर’ नै मिलेनन् । यही नै उनको निधन हुनुको कारण बन्यो ।
आर्थिक अभावका कारण फिशका परिवारले उनको उपचार खर्च समेत जुटाउन सकेका थिएनन् । जसले गर्दा उनको समयमा उपचार हुन सकेन । केही समयअघि उनकी छोरी श्रावन्तीले सार्वजनिक रुपमा पिताको मिर्गौला प्रत्यारोपणका लागि आर्थिक मद्दतको अपिल गरेकी थिइन् । यसपछि फिशको उपचारका लागि अभिनेतादेखि मन्त्रीसम्मले सहयोग गरेका थिए ।
कमेडी भूमिकाका लागि चर्चित फिशले आफ्नो करिअरमा एक सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । कहिले कमेडी त कहिले नकारात्मक भूमिकामा देखिएका उनले सन् २००१ मा रिलिज भएको तेलुगू फिल्म ‘कुशी’बाट अभिनयमा डेब्यु गरेका थिए । ‘आदी’, ‘अदूर’, ‘गब्बर सिंह’ र ‘डीजे टिल्लू’ जस्ता फिल्ममा उनको अभिनय सशक्त मानिन्छ ।

