
गत जेठयता नेपाली फिल्मको व्यापारमा शिथिलता आएको भए पनि नयाँ फिल्म निर्माणको घोषणाा उत्साहजनक रूपमा भइरहेको छ । गत बैशाखयता दुई दर्जन बढी फिल्मको औपचारिक रूपमा घोषणा भइसकेको छ भने चलचित्र विकास बोर्डमा गएको तीन महिनामा मात्र ८० बढी फिल्मले निर्माण इजाजत लिइसकेका छन् । यसरी हेर्दा फिल्म निर्माणमा अभूतपूर्व आकर्षण देखिएको छ ।
यसैबीच, शुक्रबार निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘किस्ने कहाँ छ ?’को घोषणा गरिएको छ । निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएको हो । पोस्टरमा हिलो खेत खनिरहेका एक व्यक्ति र पहाडी भेगको चिप्लो बाटोमा गुडिरहेको बोलेरो गाडी देख्न सकिन्छ । यसले स्पष्ट संकेत गर्छ कि ग्रामीण परिवेशमा आधारित भएर फिल्म बन्नेछ ।
यो फिल्मको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका छन् । ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा हेमन्त बस्नेत रहेका छन् भने कार्यकारी निर्माता इश्वर वल्लव उप्रेती हुन् । कलाकारहरूको टुंगो लाग्न बाँकी रहेको फिल्मको छायांकन आगामी भदौपछि सुरू गरिने जनाइएको छ । फिल्म सामाजिक कमेडी कथावस्तुमा बन्नेछ ।

