
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बाटो: रोड टू डेथ’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका मदन थापाले दोस्रो फिल्मको रुपमा ‘परिवार’ बनाउने भएका छन् । शुक्रबार फिल्मको शुभमुहूर्त गर्दै छायांकन पनि सुरु गरिएको छ । करिब एक महिनाको सेड्युलमा फिल्मको अधिकांश छायांकन काठमाडौं उपत्यकाभित्र हुनेछ ।
‘परिवार’को निर्माण घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरमा एक पुरुष, दुई महिला र एउटा बच्चाको कार्टुन चित्र देखिन्छ । सँगै कुकुर र बिरालो पनि छन् । टाइटल डिजाइनमा ‘परि’ छुट्टै लेखिएको छ भने बाँकी अंग्रेजीमा ‘डब्ल्यूएआर’ अर्थात् ‘वार’ लेखिएको छ । यसले परिवारमा रहेको द्वन्द्वलाई संकेत गर्छ । फिल्मका कलाकारको बारेमा भने जानकारी गराइएको छैन ।
फिल्ममा किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल निर्माता रहेका छन् भने सह-निर्मातामा सन्तोष अधिकारी छन् । फिल्मको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका हुन् । यसमा निरज कँडेलको डिओपी, विशेष महर्जनको सिनेमेटोग्राफी र एनबी महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।
रमेशबहादुर शाही कार्यकारी निर्माता र वारिस सोना लाइन प्रोड्यूसर रहेको फिल्ममा शेर शाही क्रिएटिभ डिरेक्टर छन् । रे अफ आर्टको प्रस्तुति रहेको फिल्मको निर्माणमा भिसा आई फिल्म्स र साही फिल्म्सले पनि सहकार्य गरेका छन् ।

