.jpg)
पहिलो पटक नेपाली फिल्म बंगलादेशमा रिलिज भएको छ । अघिल्लो वर्षको माघ ११ गते नेपालमा प्रदर्शन भएको फिल्म ‘केटी हराएको सूचना’ बंगलादेशका हलमा शुक्रबार (आज)बाट प्रदर्शनमा आएको हो । अनलाइन पोर्टल भ्यूज बंगलादेशका अनुसार मल्टीप्लेक्स चेन स्टार सिनेप्लेक्सको ढाकासहित अन्य सहरका हलमा फिल्मलाई प्रदर्शन गरिएको छ ।
नेपाली र अंग्रेजी सबटाइटलमा रिलिज भएको यो फिल्मलाई बंगलादेशमा ‘शो मोसन लिमिटेड’ले ‘साउथ एसियन फ्रि ट्रेड एग्रिमेन्ट’ (साफ्टा) अन्तर्गत आयात गरेको हो । त्यसबापत तनीम रहमान अंशुद्वारा निर्देशित तथा सरीफुल रन र सुनेरा बिन्ते कमाल अभिनीत बंगलादेशी फिल्म ‘नो दोराई’ नेपालका हलमा रिलिज गर्ने सहमति भएको भ्यूज बंगलादेशले जनाएको छ ।
बंगलादेशमा प्रदर्शनअघि बिहीबार ‘केटी हराएको सूचना’को स्टार सिनेप्लेक्सको एयरपोर्ट शाखामा प्रिमियर आयोजना गरिएको थियो । जहाँ फिल्मका निर्देशक दीपेन्द्र गौचन र अभिनेता नाजीर हुसेन उपस्थित थिए । फिल्मको प्रिमियरका लागि बुधबार नाजीर बंगलादेशको राजधानी ढाका पुगेका थिए । उनी शुक्रबार बंगलादेशका दर्शकको प्रतिक्रिया बुझेर नेपाल फर्किने जनाइएको छ ।
नेपालमा समीक्षात्मक रुपमा अब्बल ठरिएको यो फिल्ममा नाजिरसहित सृष्टि श्रेष्ठ सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी लगायतको अभिनय रहेको छ । अमितेष शाहको ‘गेस्ट अपियरेन्स’ रहेको फिल्ममा निर्देशक गौचन स्वयंको लेखन तथा निर्माण छ ।

