जातीय भेदभाव र छुवाछूतको कथामा बन्न लागेको फिल्म ‘जदौ’लाई काजी लिम्बू र अञ्जन शर्माले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा आयोजित फिल्मको घोषणा सभामा निर्देशकबारे जानकारी गराइयो । यसअघि फिल्ममा अनुबन्ध भएका कलाकारको बारेमा जानकारी गराइए पनि निर्माण पक्षले निर्देशकको नाम गोप्य राखेको थियो ।
आगामी भदौ पहिलो साताबाट छायांकनको तयारी गरिएको ‘जदौ’को घोषणा कार्यक्रममा कलाकारहरु मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले फिल्ममा समावेश हुने एउटा गीतको स्थायी वाचन गरेका थिए । जसमा मान्छेले मान्छेलाई नै किन भेदभाव गर्छ भन्ने भाव थियो । निर्देशक लिम्बूले गीतको यही भावमा फिल्म बन्ने बताए ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्ममा नीतिको जोडी प्रभातपलसँग बाँधिनेछ । उनीहरुले पहिलो पटक सहकार्य गर्न लागेका हुन् । मुकुनले भने अभिनेत्री ऋचा शर्माको जोडी भएर अभिनय गर्नेछन् । अहिले ऋचा अमेरिकामा रहेकाले फिल्मको घोषणा कार्यक्रममा उपस्थित हुन सकिनन् ।
अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे) लगायतको पनि अभिनय रहने फिल्मको सह-निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, काजी केसी, सृजना शर्मा र मनिष शर्मा छन् । श्याम तामाङले खिच्ने फिल्मका गीतमा बाबुल गिरी र सरोज पोखरेलको संगीत रहनेछ ।
कार्यक्रममा सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले ‘जदौ’ नेपाली समाजमा अहिले पनि व्याप्त जातीय विभेदका विविध घटनाबाट प्रेरित रहेको बताइन् । फिल्मले सामाजिक छुवाछूत र भेदभाव निर्मूल गर्न फिल्मले आवाज बुलन्द गर्ने उनको दाबी छ ।

