यही साउन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक गरिएको छ । साढे ३ मिनेटभन्दा लामो ट्रेलरमा रोजगारीको समस्याले खाडी मुलुक जानुपर्ने नेपाली युवाहरुको बाध्यता र विदेशमा उनीहरूले भोग्नुपरेको चरम यातनालाई मर्मस्पर्शी ढंगबाट देखाइएको छ । ट्रेलरले सहकारी ठगीको कथामा पनि फिल्म आधारित रहेको खुलासा गर्छ ।
ट्रेलर सार्वजनिक भएपश्चात् फिल्मका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’ हरेक नेपालीको कथा भएको बताए । उनले भने, ‘फिल्मले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्नेछ ।’
यो फिल्मको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ । ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो । यी दुवै नामको संयोजनले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्छ । फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा लगायतको अभिनय रहेको छ ।
गगनलाल प्रधानको लगानीमा बनेको यो फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर, राजीव समरको कोरियोग्राफी तथा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ ।

