Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बलिदान’को ६० फिट लामो पोस्टर सार्वजनिक, समीरको एङ्ग्री अवतार

फिल्मीखबर, काठमाडौं, 2025/07/17

balidan

 

अचेल फरक शैलीमा नेपाली फिल्मको पोस्टर सार्वजनिक गर्ने ट्रेन्ड देखिएको छ । गत जेठमा प्रदर्शन भएको फिल्म ‘नरसिंहा’को ६० फिट लामो पोस्टर एक कलेजको भवनमा टाङ्दै सार्वजनिक गरिएको थियो । यही शैलीमा ‘बलिदान’को पनि नयाँ पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार ६० फिट लामो पोस्टर गोंगबुस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरियो ।

पोस्टरमा रगतले लतपतिएका र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक मानव आकृतिमाथि भालाजस्तो देखिने धारिलो अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । उनको अनुहारमा आक्रोशको भाव झल्किन्छ । आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले यो पोस्टरलाई अझ प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ ।

पोस्टर सार्वजनिकसँगै निर्देशक सन्तोष सेनले ‘बलिदान’ एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात रहेको बताएका छन् । यो फिल्म एउटा अभियान बनिसकेको उनको भनाइ छ । गहिरो कथावस्तु र प्रस्तुतिकरणको निखारले ‘बलिदान’ले फरक पहिचान कायम गर्ने उनको विश्वास छ । ‘प्रेमगीत ३’पछि उनको निर्देशनमा बनेको यो दोस्रो फिल्म हो ।

आसुसेन फिल्म्सको प्रस्तुति रहेको फिल्ममा समीरसहित सौगात मल्ल, कविता राय, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय छ । ऋचाले समीरकी आमाको भूमिका निभाएकी छन् । फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्मातामा प्रेम पुरी रहेका छन् । यो फिल्म यसपालिको दशैंको फूलपाती (असोज १३ गते)बाट प्रदर्शन हुँदैछ ।