.jpg)
अभिनेता विल्सन विक्रम राईको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘मैझारो’को छायांकन पूर्वी पहाडी जिल्ला इलामबाट सुरु भएको छ । बिहीबार क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको शुभ मुहूर्त गरेपछि अभिनेता धीरज मगरको पहिलो दृश्य खिचियो । इलाम र पाँचथर जिल्लामा फिल्मको एक महिना छायांकन हुने जनाइएको छ ।
विल्सन स्वयंको लेखन रहेको फिल्ममा धीरजसहित मिरुना मगर, दीया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरी लगायतको अभिनय रहनेछ । फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतालाई देखाइने जनाइएको छ ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत छ भने राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङको पार्श्व गायन रहेको छ । फिल्मका छायाँकार सौरभ लामा हुन् ।
‘मैझारो’बाट फिल्म निर्देशनमा डेब्यु गर्न लागेका विल्सनले यसअघि केही सिरियल र म्यूजिक भिडियोको निर्देशन भने गरिसकेका छन् । उनले आफ्नो कम्पनी तक्मे प्रोडक्सनबाट सन् २०१७ मा फिल्म ‘रातो घर’ पनि निर्माण गरेका थिए । आफ्नो करिअरमा ३० बढी फिल्ममा अभिनय गरिसकेका उनको नयाँ फिल्म ‘यो मन त मेरो नेपाली हो’ गत साता प्रदर्शनमा आएको थियो ।

