
बुधबार साँझ अभिनेता तथा निर्माता रमेश उप्रेतीको एउटा फेसबुक स्टाटसले फिल्म क्षेत्रमा तरंग नै ल्यायो । अक्सर राजनीतिज्ञप्रति कटाक्षपूर्ण स्टाटस लेख्ने गरेका उनले बुधबार भने अभिनेताप्रति लक्षित गर्दै अशिष्ट शब्द समेत प्रयोग गरे । ‘तोरी ५० लाखे’ भनेर लेखिएको उनको पोस्टको कमेन्टमा एकजना अभिनेताको नाम अत्याधिक आएपछि उनले करिब एक घन्टापछि स्टाटस नै हटाए ।
रमेशले स्टाटस हटाउनुअघि त्यसलाई एकपटक सम्पादन पनि गरेका थिए । उनले सुरुमा लेखेका थिए, ‘नेपाली हिट फिल्म भनेर हेरेको मेरो परिवारले १५ मिनेट हेर्न सक्नुभएन । हिट कसरी भएछ ? तोरी ५० लाखे । डन्ट यू फिल सेम ? नेता र अभिनेता सही छान्नु अनि देशमा चेन्ज होला कि !’ आधा घन्टापछि उनले यो पोस्टबाट ‘तोरी’ शब्द हटाए । र, एक घन्टापछि पोस्ट नै डिलिट गरे ।
रमेशले स्टाटस नहटाउँदासम्म कमेन्टमा अभिनेता अनमोल केसीको नामको वर्षा भएको थियो । त्यसको कारण थियो, स्टाटसमा प्रयोग ‘५० लाखे’ शब्द । जगजाहेर छ, नेपाली फिल्ममा ५० लाख पारिश्रमिक लिने अनमोल नै पहिलो अभिनेता हुन् । उनको कुनै सफल फिल्म रमेशले परिवारको साथमा बसेर हेर्दा मन नपरेपछि फेसबुकमा स्टाटस लेखेको हुनसक्ने अनुमान धेरैले गरेका छन् ।
.jpg)
अनमोलले ५० लाख पारिश्रमिक लिएको फिल्म ‘फर्की फर्की’ थियो । तर, यो फिल्म सफल भने भएको थिएन । उनको पछिल्लो हिट फिल्म ‘ए मेरो हजुर ४’ हो । रमेशले यी दुईमध्ये कुनै एउटा फिल्म हेरेपछि आवेशमा स्टाटस लेखेको हुनसक्ने देखिन्छ । यद्यपि, यसको पुष्टि भएको छैन । उनले डिलिट गरिसकेको स्टाटसको ‘स्क्रिनसट’ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

