अभिनेता नाजिर हुसेनले पहिलो पटक पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा अभिनय गरेको फिल्म ‘गुन्यो चोलो’ आगामी भदौ १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको पहिलो गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । उक्त मिति ऋषिपञ्चमीको भोलिपल्ट परेको छ ।
सार्वजनिक गीतको भिडियोमा नाजिर बेहुलीझैं सिंगारिएर कुनै माहोलमा नृत्य गरिरहेका देखिन्छन् । उनी दुरुस्तै महिला देखिएका छन् । उनको हाउभाउ र नृत्य शैली पनि महिलाजस्तै छ । नृत्य गरिरहँदा उनको अनुहारमा पीडाभाव झल्किएको छ । उनले यो फिल्ममा ट्रान्सवुमनको भूमिका निभाउन करिब १६ केजी तौल घटाएका थिए ।
कमल राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा नाजिरसहित सुशील सिटौला, उत्तम केसी, स्व. सानु ताम्राकार, शिशिर राणा लगायतका कलाकारहरु पनि प्रस्तुत छन् । लेखु सहयात्रीको संगीत तथा शब्द रचना रहेको गीतमा मनीषा पोखरेलको गायन छ । लेखुले संगीत भरेको यो पहिलो गीत छ । कार्यक्रममा गायिका पोखरेलले गीतको सानो अंश गाएर सुनाएकी थिइन् ।
समुन्द्र भट्टको निर्देशनमा बनेको फिल्ममा नाजिरको आमाको भूमिकामा सञ्चिता लुईँटेलले अभिनय गरेकी छन् भने उनको दिदीको भूमिकामा पत्रकार समेत रहेकी निशा बजगाईँ छिन् । उनीहरुसहित फिल्ममा विशाल पहारी, अनुपम श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । आलोक शुक्लाको छायांकन रहेको फिल्मको पटकथा निर्देशक भट्ट र अभिनेता हुसेनले तयार पारेका हुन् ।

