Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपले नमानेपछि ‘जहाजैमा’मा हिरो बन्दै अनुभव

फिल्मीखबर, काठमाडौं, 2025/07/15

pradeep khadka and anubham regmi

 

निर्देशक कृषा चौलागाईं यतिबेला नयाँ फिल्म ‘जहाजैमा’ बनाउने तयारीमा छिन् । त्यसका लागि प्रि-प्रोडक्सनको काम र कलाकार छनोट प्रक्रिया एकसाथ चलिरहेको छ । फिल्ममा सौगात मल्ल, केदार घिमिरे, कर्मा शाक्य, वर्षा सिवाकोटी र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन् । फिल्ममा अर्का एक अभिनेताको पनि टुंगो लागिसकेको छ । ती हुन्, अनुभव रेग्मी ।

निकट स्रोतका अनुसार अनुभव र फिल्मका निर्माताबीच यसै साता कागजी सम्झौता भएको हो । यद्यपि, यसबारेमा निर्माण पक्षले कुनै जानकारी गराएको छैन । बुझिए अनुसार एक कार्यक्रममार्फत उनको नाम सार्वजनिक गर्ने तयारी गरिएको छ । फिल्ममा अनुबन्ध भएपछि अनुभवलाई निर्माताले एउटा विशेष उपहार समेत दिएको बताइन्छ ।

अनुभव तिनै हुन्, जसले ‘नाइँ नभन्नू ल’का श्रृंखलामा बाल कलाकार भएर काम गरेका थिए । ‘रिदम’, ‘काली’, ‘आवरण’, ‘प्रेमगीत ३’, ‘शब्द’, ‘भैरे’, ‘हजार जुनीसम्म’ जस्ता फिल्ममा पनि काम गरिसकेका उनले ‘जहाजैमा’बाट मुख्य अभिनेताको रुपमा डेब्यु गर्न लागेका हुन् । फिल्ममा उनी नेपालबाट जापान पढ्न जाने पात्रको भूमिकामा देखिने जनाइएको छ । 

‘जहाजैमा’का लागि अनुभव पहिलो रोजाइ भने थिएनन् । उनीभन्दा पहिला अभिनेता प्रदीप खड्कालाई फिल्म अफर गरिएको थियो । उनीसँँग सम्झौता गर्ने उद्देश्यले फिल्मको टिम ‘ऐरी’को सुटिङ स्थल बागलुङ समेत पुगेको थियो । तर, प्रदीपले भदौबाट अर्को फिल्मलाई समय दिएकाले काम गर्न नभ्याउने बताएपछि फिल्मको टिमले अनुभवलाई अनुबन्धित गरेको स्रोत बताउँछ । 

यूएनए प्रोडक्सनले निर्माण गर्न लागेको ‘जहाजैमा’को छायांकन आउँदो भदौबाट जापानमा सुरु गरिँदैछ । नेपाल र फिलिपिन्समा पनि फिल्मको छायांकन हुने बताइएको छ । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मका निर्माता उज्जवल गुरागाईं हुन् । जापानमा नेपाली फिल्म वितरण गर्दै आएका उनले यही फिल्मबाट निर्माणमा हात हाल्न लागेका हुन् ।