Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शनाया कपूरको डेब्यु फिल्मको विजोग, तीन दिनमा एक करोड कमाइ

एजेन्सी, काठमाडौं, 2025/07/14

Shanaya Kapoor starts shooting for her debut movie, dad Sanjay Kapoor says  'Sky is the limit' | Bollywood News - The Indian Express

 

‘स्टार किड्स’ शनाया कपूरको डेब्यु बलिउड फिल्म ‘आँखों की गुस्ताखियाँ’ फ्लप भएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले तीन दिनमा जम्मा १ करोड २ लाख कमाएको छ । ३० लाखको निराशाजनक ओपनिङ गरेको फिल्मले शनिबार ४९ लाख र आइतबार ४१ लाख कमाइ गर्‍यो । सोमबार फिल्मको अकुपेन्सी १० प्रतिशतभन्दा तल रहेको भारतीय मिडियाले जनाएका छन् ।

२५ करोडमा बनेको फिल्मको आइतबारसम्मको कमाइ हेर्दा प्रचारको पैसा (५ करोड) समेत नउठ्ने देखिन्छ । फिल्मलाई समीक्षा पनि राम्रो प्राप्त भएको छैन । इन्डियन एक्सप्रेसले ‘लेखनमा असफल फिल्म’ भन्दै २ रेटिङ दिएको छ । कोइमोइ, जागरण जस्ता पोर्टलले पनि लेखनमै कमजोरी औंल्याएका छन् । यद्यपि, शनाया कपूरको अभिनयको भने समीक्षकहरुले प्रशंसा गरेको देखिन्छ ।

तर, दर्शकहरुबाट शनायाको अभिनयलाई लिएर मिश्रित प्रतिक्रिया मिलेको छ । कतिले उनको अभिनयलाई कमजोर भनेका छन् भने कतिले डेब्युको हिसाबले राम्रो प्रयास गरेको बताएका छन् । फिल्म रिलिजपछि शनाया ट्रोलको शिकार पनि भइरहेकी छन् । ‘नेपो किड’को समूहमा स्वागत छ’ भन्दै उनीमाथि व्यापक ट्रोल बनेका छन् । शनाया बलिउड अभिनेता सञ्जय कपूरकी छोरी हुन् ।

शनायाको सन् २०२३ मा ‘बेधडक’बाट बलिउड डेब्यु तय भएको थियो । तर, यो फिल्म निर्माण हुनै सकेन । यसपछि ‘आँखों की गुस्ताखियाँ’बाट डेब्युको अवसर पाएकी उनलाई पहिलो गाँसमै ढुंगा लागेको छ । यो फिल्मको असफलताले उनको करिअरलाई नै संकटमा पार्न सक्ने विश्लेषण भइरहेको छ। यसमा उनको जोडी ‘टुवेल्थ फेल’बाट चर्चामा आएका विक्रान्त मेसीसँग बाँधिएको छ ।