.jpg)
‘परदेशी २’ र ‘छक्का पञ्जा ५’को सफलतापछि करिअरको उत्कर्षमा रहेकी अभिनेत्री वर्षा सिवाकोटीलाई यतिबेला भ्याइनभ्याइ छ । बैशाखयता एकपछि अर्को फिल्म सम्झौता गरिरहेकी उनले यस वर्ष चारवटा फिल्ममा काम गर्दैछिन् । यस्तैमा उनी अभिनीत नयाँ फिल्म ‘माग्ने राजा’ भदौ ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । यस वर्ष प्रदर्शन हुन लागेको उनको यो पहिलो फिल्म हो ।
यो फिल्ममा वर्षा शिक्षिकाको भूमिकामा रहेको टिजरबाट बुझ्न सकिन्छ । यसमा उनको जोडी कलाकार केदार घिमिरे (माग्ने बुढा)सँग बाँधिएको छ । यसअघि उनीहरूले ‘छक्का पञ्जा ५’मा सहकार्य गरेका थिए । वर्षा ‘माग्ने राजा’मा आफू आबद्ध हुनुको एउटा मुख्य कारण केदारलाई मान्छिन् । उनको अभिनय रहने थाहा पाएपछि वर्षाले फिल्ममा काम गर्ने सहमति जनाएकी थिइन् ।
उनी भन्छिन्, ‘फिल्मबाट प्रस्ताव आउनासाथ मैले काम गर्ने सहमति जनाएकी थिएँ । किनकि, मलाई राम्रो टिमसँग काम गर्ने लोभ थियो । केदार दाईसँग मैले यसअघि ‘छक्का पञ्जा ५’मा सहकार्य गरिसकेकाले पनि म काम गर्न राजी भएँ । फिल्ममा मेरो चरित्रले पनि मलाई लोभ्याएको थियो ।’ फिल्ममा केदार पहिलो पटक शीर्ष भूमिकामा देखिएकाले आफू उत्साहित रहेको उनी बताउँछिन् ।
यसअघिका फिल्ममा आफूले गरेका पात्रभन्दा ‘माग्ने राजा’मा फरक रहेको उनको भनाइ छ । भन्छिन्, ‘यसको कथा नै फरक छ । फिल्ममा मेरो जुन चरित्र छ, त्यो निर्देशकले ‘न्यारेट’ गर्दा म त्यस्तो देखिन्छु या देखिन्नँ भन्ने लागेको थियो । तर, उहाँहरूको सोचाइ अनुसार नै मैले काम गरेकी छु ।’ निर्माण टिमको योजना अनुरूप नै ‘माग्ने राजा’ बनेकाले फिल्म सफल हुनेमा उनी निश्चिन्त छिन् ।
वर्षालाई फिल्मको कथामा दर्शकले आफूलाई ‘रिलेट’ गर्न सक्छन् भन्ने विश्वास छ । ‘फिल्मले अहिलेको वर्तमान अवस्थालाई चित्रण गरेको छ । हाम्रो समाजले निम्न र उपल्लो वर्ग भनेर छुट्याएको छ । फिल्मले सबै वर्गलाई प्रतिनिधित्व गर्छ । अहिलेको राजनीतिक अवस्थाको पनि यसमा चित्रण छ,’ उनी अगाडि भन्छिन्, ‘फिल्मले राजनीति, परिवार र प्रेमको कुरालाई बलियो गरी देखाएको छ ।’
२० बढी फिल्ममा काम गरिसकेकी वर्षा सबैभन्दा सन्तुष्टि भने ‘छक्का पञ्जा ५’बाट मिलेको बताउँछिन् । ‘मैले गरेका फिल्ममध्ये अलि प्रोत्साहन पाएको ‘छक्का पन्जा ५’बाट हो । त्यो किसिमको सपोर्ट अहिलेसम्म पाएको थिइनँ । राम्रो काम गर्नुहुँदो रहेछ भनेर प्रतिक्रिया आएको पनि ‘छक्का पन्जा ५’बाट नै हो । ‘माग्ने राजा’मा मैले त्योभन्दा केही फरक गरेको छु जस्तो लाग्छ,’ उनी भन्छिन् ।

