Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोफसलका दर्शक फकाउँदै पल र बेनिशा

फिल्मीखबर, काठमाडौं, 2025/07/13

May be an image of one or more people, crowd and text

 

अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालले पहिलो पटक सहकार्य गरेको फिल्म ‘मोहर’ आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । दुई गीत र टिजरका कारण फिल्मप्रति दर्शकको चासो बढिरहँदा अब निर्माण टिमले मोफसल केन्द्रित प्रचार अभियान सुरु गरेको छ । त्यसको सुरुवात नेपाली फिल्मको ठूलो बजारमध्ये एक मानिने बुटवलबाट भएको छ । 

आइतबार पल र बेनिशाले बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता मा.विका विद्यार्थीहरूसँग साक्षात्कार गर्दै फिल्म हेर्न निम्तो दिए । चार सय बढी विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा पलको क्रेज लोभलाग्दो देखिएको थियो । उनलाई देखेपछि युवतीहरू चिच्याउँदै अंकमाल गर्न स्टेज नै पुगेका थिए । उनीसँग सेल्फी खिच्न पनि तछाडमछाड चलेको थियो ।

उक्त कार्यक्रममा पलले विद्यार्थी र शिक्षकहरूमाझ उपस्थित हुन पाउँदा आफ्नो विद्यार्थी जीवनको याद आएको बताए । उनले विद्यार्थीहरूलाई पठनपाठन अब्बल बनाउँदै आफ्नो रुचि अनुसारको पेशा अंगाल्न सुझाव दिएका छन् । उनले ‘मोहर’ सामाजिक कथावस्तुमा आधारित भएर बनेकाले परिवारसहित फिल्म हेर्न पनि आग्रह गरे । 

 

paul shah and benisha hamal


नवीन मा.विपछि पल र बेनिशाले बुटवलको कालिकानगरस्थित क्षितिज इन्टरनेशनल कलेजमा पुगेर त्यहाँका विद्यार्थीमाझ पनि फिल्मको प्रचार गरेका छन् । शनिबार भने उनीहरू बुटवलमा आयोजित रोट्राक्ट क्लब (डिस्टिक ३२९२)को १८औं स्थापना समारोहमा सहभागी भएका थिए । यसरी हेर्दा ‘मोहर’ टिमले प्रचारका लागि कुनै पनि थलो नछाड्ने योजना बनाएको देखिन्छ । 

देउकी प्रथामा आधारित भएर बनेको यो फिल्ममा पल र बेनिशासहित नीति शाह, अर्जुन जंग शाही, रवीन्द्र झा, मिथिला शर्मा, लक्ष्मी गिरी, मिस पबी लगायतको अभिनय रहेको छ । ओम प्रतिकको लेखन तथा निर्देशन र चुम्बन जंग शाहीको लगानीमा बनेको फिल्ममा दिपेन बस्न्यातको छायांकन तथा सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत रहेको छ ।