Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोपी’ टिमबीच फेरि सहकार्य, ‘मुनामदनको ब्रेकअप’ घोषणा

फिल्मीखबर, काठमाडौं, 2025/07/13

muna-madanko-breakup (4)-2

 

२०७५ सालमा प्रदर्शन भएको फिल्म ‘गोपी’को टिमले ‘मुनामदनको ब्रेकअप’ शीर्षकमा नयाँ फिल्म बनाउने भएको छ । आइतबार यो फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् भने सामीप्यराज तिमल्सेनाको लेखन रहनेछ । फिल्मको कार्यकारी निर्मातामा फोटोग्राफर श्रीधर पौडेल रहेका छन् । ‘गोपी’पछि उनीहरुको यो दोस्रो सहकार्य हो ।

फिल्ममा अभिनेता राज कटुवालको मुख्य भूमिका रहनेछ । उनले मदन पात्रको भूमिका निर्वाह गर्नेछन् । उनले पछिल्लो पटक फिल्म ‘नरसिंहा अवतार’मा अभिनय गरेका थिए । यसमा उनको एक्सनको प्रशंसा भएको थियो । २ वर्षअघि रिलिज भएको ‘मेसो मिलाएर’ गीतमा अभिनय गरेपछि चर्चामा आएका उनले ‘लाल्टिन’, ‘लीला’ जस्ता फिल्ममा पनि काम गरेका छन् । 

निर्देशक लामाले फिल्ममा बाँकी कलाकारको विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्ने बताए । डेब्यू निर्देशकीय फिल्म ‘घामपानी’देखि ‘दुखी आत्मा’सम्म ६ वटा फिल्म निर्देशन गरिसकेका लामा ‘मुनामदनको ब्रेकअप’लाई मनोरञ्जक फिल्मको रुपमा तयार पार्ने सोचमा छन् । उनका अनुसार फिल्ममा ग्रामीण परिवेशको फरक स्वादको प्रेमकथा हेर्न पाइनेछ । 

फिल्मका लेखक तिमल्सेनाले पछिल्लो समय नेपाली फिल्ममा हेरिँदै आएको भन्दा भिन्न स्वभावको प्रेमकथा फिल्ममा प्रस्तुत गरिने बताएका छन् । उनले अहिले दर्शकलाई हलसम्म तान्न धेरै मुश्किल रहेकाले पटकथामा सक्दो मिहिनेत गरिने बताए । यसअघि उनले ‘क्याप्टेन’, ‘नाइँ नभन्नू ल ५’, ‘किस्मत २’ जस्ता २० बढी फिल्मको कथा लेखिसकेका छन् ।