Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा वर्षाको उच्च माग, ‘जहाजैमा’मा पनि भित्रिइन्

फिल्मीखबर, काठमाडौं, 2025/07/13

barsha siwakoti

 

यस्तो लाग्छ, ‘छक्का पञ्जा ५’को सफलतापछि अभिनेत्री वर्षा सिवाकोटीको भाग्य नै बलेको छ । अहिले उनको फिल्ममा उच्च माग देखिन्छ । एकपछि अर्को फिल्ममा उनी अनुबन्धित भइरहेकी छन् । फिल्ममा माग बढेसँगै उनले पारिश्रमिक पनि बढाएको चर्चा छ । यतिबेला नयाँ फिल्म ‘माग्ने राजा’ को प्रचारमा व्यस्त रहेकी वर्षाले साउनपछि काम गर्नुपर्ने फिल्मको संख्या मात्र चार पुगेको छ ।

‘कार्की साइँला’, ‘महाराजधिराज’ र ‘गोबर गणेश’ सम्झौता गरेर बसेकी उनी शनिबार अर्को फिल्म ‘जहाजैमा’मा अनुबन्धित भएकी छन् । ‘पिताम्बर’ निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको यो फिल्ममा वर्षालाई मुख्यमध्ये एक भूमिकामा अनुबन्ध गरिएको जनाइएको छ । कथा र कलाकारसहितको टिम राम्रो लागेका कारण फिल्ममा आफू आबद्ध भएको उनले बताएकी छन् ।

यो फिल्ममा वर्षाभन्दा अघि केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन् । अन्य कलाकारको छनोट अन्तिम चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ । उज्ज्वल गुरागाईंको लगानीमा बन्न लागेको फिल्ममा अभिमन्यू निरवीको कथा लेखन छ भने छायाङ्कनको जिम्मेवारी पुरूषोत्तम प्रधानलाई दिइएको छ ।

केपी फिल्म्ससँगको सहकार्यमा यूएनए प्रोडक्सनले निर्माण गर्न लागेको फिल्मको छायांकन आउँदो भदौ महिनाबाट जापानमा सुरु हुनेछ । जापानपछि नेपाल र फिलिपिन्समा छायांकन गरिने फिल्मको अहिले प्रि-प्रोडक्सनको काम भइरहेको छ । छायांकन सुरु नहुँदै निर्माण पक्षले आगामी फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकेको छ । यो मितिमा अरू तीन फिल्म पनि आउँदैछन् ।