
तेलुगू फिल्म इन्डस्ट्रीबाट एउटा दुखद् खबर आएको छ । दिग्गज अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका उनको आइतबार बिहान ४ बजे हैदराबादस्थित आफ्नै निवासमा निधन भएको हो । उनी ८३ वर्षका थिए । उनको निधनप्रति भारतीय कलाकारहरुले शोक व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
१० जुलाई १९४२ मा आन्ध्र प्रदेशको कन्कीपाडुमा जन्मिएका श्रीनिवास एक प्रतिष्ठित परिवारबाट थिए । उनका पिता सीता राम अन्जनेयुलु चिकित्सक थिए । सानो छँदा उनी पनि पिताजस्तै चिकित्सक बन्न चाहन्थे । तर, स्कूल जीवनपछि उनको लक्ष्य बदलियो र कलाकारितामा होमिए । उनले थिएटरबाट अभिनय करिअर सुरु गरेका थिए ।
अभिनयसँगै स्टेट बैंकमा जागिर समेत खाएका उनको पहिलो फिल्म ‘प्रणाम खरीदु’ थियो, जुन सन् १९८७ मा रिलिज भएको थियो । नकारात्मक भूमिकामा निकै रुचाइएका उनले आफ्नो चार दशकभन्दा लामो करिअरमा ७ सय ५० बढी फिल्ममा काम गरेका छन् । ‘प्रतिघातना’, ‘गयम्’, ‘तीरपु’, ‘गणेश’, ‘पेलैना कोथालो’ जस्ता फिल्ममा उनले निभाएको चरित्र यादगार मानिन्छ ।
तेलुगूसहित तमिल, कन्नड र हिन्दी भाषाका फिल्ममा समेत काम गरेका उनलाई भारतीय फिल्म उद्योगमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै सन् २०१५ मा पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो । उनले फिल्ममा गरेको अभिनयबाट थुप्रै अवार्ड पनि जितेका छन् । उनी १९९९ देखि २००४ सम्म विजयवाडा पूर्व विधानसभाका विधायक पनि रहेका थिए ।

