
‘दान्भी’ निर्देशक रुपेश तामाङले अभिनेत्री पूजा शर्मालाई मुख्य भूमिकामा लिएर निर्माण गर्न लागेको फिल्मको नाम तय भएको छ । शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै ‘एक्का तीन’ शीर्षकमा फिल्म बन्ने जानकारी गराइएको हो । रुपेशले पूजालाई दुई महिनाअघि उनको जन्मदिनको दिन फिल्ममा अनुबन्धित गरेका थिए । पोस्टर हेर्दा फिल्म एक्सन जनरामा बन्ने देखिन्छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)बाट बनाइएको थिम पोस्टरमा एक महिलासहित दुई पुरुष पात्र प्रस्तुत छन् । तर, उनीहरुको अनुहार देखाइएको छैन । उनीहरुको पृष्ठभूमिमा ठूलो विष्फोट भएको देखिन्छ । आकाशमा हेलिकोप्टर उडिरहेको छ । बदलाको कथामा आधारित भएर फिल्म बन्न लागेको हुनसक्ने पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।
सन् २०२६ अर्थात् अर्को वर्ष रिलिज लक्ष्य राखिएको ‘एक्का तीन’मा पूजाबाहेक अरु कलाकार तय भएका छैनन् । पोस्टर अनुसार फिल्ममा तीन पात्र मुख्य भूमिकामा हुनेछन् । यसमा पूजा ‘दान्भी’मा झैँ एक्सन अवतारमा देखिनेछिन् । सुमन गजमेरको लेखन रहेको यो फिल्मको दोस्रो श्रृंखला पनि निर्माण गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।
यसपटक फिल्ममा कथासहित एक्सन र सस्पेन्स बलियो हुने निर्देशक रुपेशको भनाइ छ । आफूले यसअघिका फिल्ममा गरेका कमी-कमजोरीलाई सच्च्याएर यो फिल्म उत्कृष्ट बनाउने उनको अठोट छ । जुना फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मको छायांकन आगामी तिहारपछि सुरु हुने जनाइएको छ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम चलिरहेको छ ।

