
नवीन पन्तको निर्देशनमा फिल्म ‘बाकस’ बन्ने भएको छ । बिहीबार गुरु पूर्णिमाको अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । तिहारपछि छायांकन सुरु हुने फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।
सार्वजनिक पोस्टरले फिल्मको कथावस्तुलाई संकेत गरेको छ । एक व्यक्ति टाढाबाट गाउँतिर हेरिरहेका देखिन्छन् । उनको छेवैमा कफिन (शव राख्ने बाकस) छ । आकाशमा प्लेन उडिरहेको छ । वैदेशिक रोजगारीमा गएर बाकसमा फर्किनुपर्ने नेपालीहरुको क्रुर नियतिको कथामा फिल्म आधारित हुने पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।
पिके इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको कथा निर्देशक पन्त स्वयंको हो । नेपाल र विदेशमा छायांकन हुने फिल्ममा शंकर अधिकारी (घायल) र नारायण बस्नेतको गीत रहनेछ । हाल फिल्मको स्क्रिप्ट तयार पार्ने काम भइरहेको र चाँडै कलाकार तथा प्राविधिकको छनोट गरिने निर्देशक पन्तले बताए ।

