.jpg)
क्याप्टेन तथा सञ्चार उद्यमी रामेश्वर थापाको जीवनकथामा आधारित भएर फिल्म ‘क्याप्टेन साब’ बन्ने भएको छ । बिहीबार गुरु पूर्णिमाको अवसर पारेर काठमाडौंको गौरीघाटमा शुभ मुहूर्त गर्दै फिल्मबारे जानकारी गराइयो । व्यवसायी डा. उपेन्द्र महतोले क्ल्याप ठोकेर फिल्मको मुहूर्त गरेका थिए । कार्यक्रममा क्याप्टेन थापा पनि उपस्थित थिए ।
दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको यो फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइलीको मुख्य भूमिका रहनेछ । खगेन्द्रले क्याप्टेन थापाको भूमिका निर्वाह गर्ने जनाइएको छ । दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै फिल्ममा यी तीन जनाको यो पहिलो पटक सहकार्य हो ।
पटकथा प्रडक्सन र यार्सा स्टुडियोले निर्माणमा सहकार्य गरेको फिल्ममा कृष्णबहादुर थापाको छायांकन रहनेछ । आगामी भदौबाट काठमाडौं, चितवन र काभ्रेका विभिन्न स्थानमा फिल्मको छायांकन गरिने जनाइएको छ । यो फिल्मको निर्माताहरुमा निर्देशक दीपेन्द्रसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल रहेका छन् । कार्यकारी निर्माता सिर्जना नापित हुन् ।
क्याप्टेन थापाको संस्मरणात्मक कृति ‘इन्टो द फायर’ (बारुदमाथि उड्दा)मा आधारित भएर बन्न लागेको फिल्ममा निर्देशक खनाल स्वयंको लेखन रहेको छ । उनले ‘क्याप्टेन साब’ एक फरक खालको फिल्म हुने बताए । क्याप्टेन थापाको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर पूर्ण मनोरञ्जनात्मक फिल्म बनाइने उनको भनाइ छ ।
.jpg)
आफ्नो ‘फ्लाइङ करिअर’मा ९ हजार घन्टाभन्दा बढी समय आकाशमा उडेका क्याप्टेन थापा माओवादी सशस्त्र युद्धको समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका थिए । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष तथा सिम्रिक एयरका सञ्चालक समेत रहेका उनीमाथि सहकारीको बचत टेलिभिजनमा लगानी गरेको जस्ता विभिन्न आरोप छन् ।

