Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकको ‘कोशेढुंगा’ ५१ दिनमा प्याकअप

फिल्मीखबर, काठमाडौं, 2025/07/08

Kosedhunga-3

 

सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन सकाएका छन् । मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङ र मार्खुमा एउटा गीतको छायांकन गरेपछि सोमबार ५१ दिनमा फिल्म ‘प्याकअप’ भएको हो । गीतबाहेकको छायांकन भने केही साताअघि नै पूरा भइसकेको थियो । 

गत फागुनमा ललितपुरको च्यासलमा सेट लगाएर सुरु भएको ‘कोशेढुंगा’को छायांकन त्यसपछि गण्डकी प्रदेशको स्याङ्जाको आँधीखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको थियो । यो फिल्म तीजको अवसर पारेर आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने निश्चित भइसकेको छ । नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ फिल्म रिलिज हुने जनाइएको छ । 

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । फिल्मको कथा उनीमै केन्द्रित रहेको जनाइएको छ । उनीसहित फिल्ममा आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले लगायतको अभिनय रहेको छ । यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । 

‘कोशेढुंगा’को निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा आशिष अविरल र रिदम कँडेलको संगीत छ । फिल्मलाई नहकुल खड्काले सम्पादन गर्नेछन् । यो फिल्म महिलाप्रधान कथावस्तुमा आधारित छ ।