
कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ एकपटक फेरि फिल्म निर्देशन गर्ने तयारीमा जुटेका छन् । आफ्नो निर्देशनमा बन्ने गरी २०८० सालमा दुई फिल्म ‘सिलाम साक्मा’ र ‘लाहुरे एण्ड दाउरे’को घोषणा गरेर पनि निर्माण गर्न नसकेका उनले अब फिल्म ‘मैझारो’ बनाउने भएका छन् । सोमबार अभिनेता धीरज मगरलाई मुख्य भूमिकामा अनुबन्ध गर्दै उनले फिल्मबारे जानकारी गराए ।
अघिल्ला दुई फिल्मजस्तो घोषणामा सीमित नभए ‘मैझारो’बाट विल्सनको निर्देशनमा डेब्यु हुनेछ । उनले यसअघि केही सिरियल र म्यूजिक भिडियोको भने निर्देशन गरिसकेका छन् । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा विल्सन स्वयंको स्क्रिप्ट लेखन रहेको छ । यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन् ।
विल्सनले फिल्मका अन्य कलाकारको नाम चाँडै सार्वजनिक गरिने बताएका छन् । उनका अनुसार फिल्मको छायांकन पूर्वी पहाडी भेग इलाम र पाँचथरमा गरिनेछ । सामाजिक कथावस्तुमा आधारित भएर बन्न लागेको यो फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतामा निर्माण हुने जनाइएको छ । ‘मैझारो’को अर्थ कुनै पनि काम सम्पन्न गर्नु वा टुङ्ग्याउनु भन्ने हुन्छ ।
तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सिरियल र सांगीतिक प्रस्तुतिहरू दर्शकमाझ निकै लोकप्रिय छन् । यो ब्यानरबाट सन् २०१७ मा विल्सनले फिल्म ‘रातो घर’ पनि निर्माण गरेका थिए । आफ्नो करिअरमा ३० बढी फिल्ममा अभिनय गरिसकेका उनको नयाँ फिल्म ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ गतेदेखि प्रदर्शन हुँदैछ । अहिले विल्सन यसैको प्रचारमा व्यस्त छन् ।
सम्बन्धित समाचार : दयाहाङलाई लिएर ‘लाहुरे एण्ड दाउरे’ निर्देशन गर्दै विल्सन

