
अभिनेत्री नीता ढुंगानाले पहिलो पटक निर्देशन गर्न लागेको फिल्म ‘सुख-दु:ख’लाई भारतका प्रख्यात छायाँकार कबीरलाल र उनका छोरा शाहीद लालले खिच्ने भएका छन् । केही दिनदेखि काठमाडौंमा रहेका बाबु-छोरासँग आइतबार फिल्मकी निर्मात्री समेत रहेकी नीताले कागजी सम्झौता गरेकी हुन् । यसअघि उनको फिल्म ‘ह्रस्व दीर्घ’लाई पनि कबीरलालले खिचेका थिए ।
निर्देशक समेत रहेका कबीरलालले ‘परदेश’, ‘ताल’, ‘कहो ना प्यार है’, ‘हम आपके दिल में रहते हैं’, ‘युवराज’, ‘यमला पगला दीवाना’, ‘हिरोपन्ती २’, ‘वेलकम ब्याक’ लगायत एक सयभन्दा बढी हिन्दी र अन्य भाषाका फिल्म छायांकन गरेका छन् । उनका छोरा शाहीद लालले पनि कन्नड र तेलुगु भाषाका आधा दर्जन बढी फिल्म खिचेका छन् ।
दुई छायाँकारसँगै निर्मात्री ढुंगानाले फिल्मलाई वितरण गर्ने कम्पनीको पनि टुंगो लगाएकी छन् । ‘सुख-दु:ख’लाई उपत्यकाबाहिर एफडी कम्पनी र काठमाडौं उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ । दुवै कम्पनीका प्रमुखसँग आइतबार नीताले कागजी सम्झौता गरेकी हुन् । फिल्मको निर्माण व्यवस्थापनको जिम्मेवारी शंकर पाण्डेलाई दिइएको छ ।
‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म २०८३ सालको दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको छ । हालसम्म फिल्मका कलाकारको बारेमा जानकारी गराइएको छैन । ‘सुख-दु:ख’ले सांस्कृतिक भावना र कथामा नयाँ आयाम थप्ने नीताको विश्वास छ ।

