
यतिबेला कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पारिश्रमिकको विषयले चर्चामा छन् । केही साताअघि फिल्म ‘माग्ने राजा’को पोस्टर सार्वजनिक कार्यक्रममा यसका निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख पारिश्रमिक दिएको दाबी गरेका थिए । यसपछि केदारले ‘सबैभन्दा महँगा कलाकार’को ट्याग समेत पाए । तर, निर्माताले गरेको उक्त दाबी फण्डा मात्र रहेको खुलासा भएको छ ।
आइतबार एक कार्यक्रममा सहभागी हुने क्रममा केदार स्वयंले फण्डाका लागि निर्माताले आफूलाई ६१ लाख दिएको भनेर हल्ला चलाएको बताएका छन् । उनले भनेका छन्, ‘६१ लाख भन्ने कुरा निर्माताले गरेको फण्डा मात्र हो । यसो गर्यो भने फिल्मको राम्रो हाइप बन्छ भन्ने रूपमा निर्माताले लिनुभयो । तर, म चाहिँ पारिश्रमिकभन्दा पनि अभिनयको कुरा अगाडि आउनुपर्छ भनेर सोच्छु ।’
केदारले पोस्टर सार्वजनिक कार्यक्रममा पारिश्रमिकको खण्डन नगर्नुको कारण टिजरलाई देखाएका छन् । भन्छन्, ‘टिजरभित्र पैसा थियो । त्यो टिजर नआइ मैले बोल्न नमिल्ने थियो । निर्माताले बोलेकै दिन मैले उहाँलाई स्पष्टीकरण सोधिसकेँ । किन अनावश्यक हल्ला गर्नुभयो भनेर सोध्दाखेरि उहाँले ‘टिजरमा छ नि पैसा, मैले त्यही नै दिएको हुँ भनेर पछि मिलाइहाल्छु’ भनेर सच्याउनुभयो ।’
उनले ट्याक्सबाट जोगिनलाई पारिश्रमिकको खण्डन नगरेको पनि स्पष्ट पारेका छन् । उनले भने, ‘ट्याक्स मैले घरको ल्याएर तिर्ने होइन । निर्माताबाट सबै पैसा आइसकेपछि म कानुन बमोजिम ट्याक्स अवश्य तिर्नेछु ।’ उनले अनावश्यक फण्डाले व्यक्तिगत रुपमा असर गर्ने पनि बताएका छन् । आफू कामको पूजारी भएकाले सधैं कामको मात्रै कुरा होस् भन्ने चाहने केदारको भनाइ छ ।
उनले फिल्ममा आफूले लिँदै नलिएको पारिश्रमिकको विषयलाई निर्माताले फण्डा बनाएपछि टिमसँग आफ्नो मतभिन्नता रहेको पनि खुलाएका छन् । उनी भन्छन्, ‘त्यो विषयलाई लिएर टिमसँग मतभिन्नता चाहिँ छ । फिल्मको प्रचार गर्ने भन्दैमा अनर्गल प्रचारमा जानुपर्छ भन्ने मलाई लाग्दैन । किनभने, हामी एउटा मात्रै फिल्म खेलेर हराउने मान्छे होइन । सधैं यही क्षेत्रमा बसेर काम गर्नुपर्छ ।’

