
प्रदीप शाहीको निर्देशनमा बनेको साइफाइ फिल्म ‘एक्लो’ यस वर्षको जाडोयाममा प्रदर्शन हुने भएको छ । आइतबार फर्स्टलुक भिडियोमार्फत आगामी पुषमा फिल्म प्रदर्शन हुने जनाइएको हो । तर, प्रदर्शन मिति भने तोकिएको छैन । बुझिए अनुसार पुष १० गते परेको क्रिसमस–डेको विदामा फिल्म प्रदर्शन गर्ने तयारी गरिएको छ । यो मिति अहिलेसम्म कुनै फिल्मले ‘बुक’ गरेका छैनन् ।
सार्वजनिक भिडियोमा फिल्मका कलाकारहरु प्रदीप खड्का, बेनिशा हमाल, दीया मास्के, विजय लामा, सुनील थापा, सुरजसिंह ठकुरी, कविता नेपाली, एवन राज उप्रेती र बेलायती अभिनेता जेमी बेकन क्यारेक्टर लुक्समा प्रस्तुत छन् । प्रदीप योद्धाको रुपमा देखिएका छन् । उनको पृष्ठभूमिमा दौडिरहेको सेतो घोडा र आगो देख्न सकिन्छ । यसले उनको पात्र शक्तिशाली रहेको बुझाउँछ ।
‘एक्लो’मा दिनेश डीसी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकारहरु जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतको पनि अभिनय रहेको छ । करिब २ महिनादेखि फिल्मको बेलायतमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । गत मेमा भएको विश्वविख्यात कान्स फेस्टिभलमा स्टल नै राखेर फिल्मको प्रचार गरिएको थियो ।
यो फिल्मका निर्माताहरुमा राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । यसमा रुपेश गुरुङको सम्पादन तथा राजु तामाङको द्वन्द्व निर्देशन छ ।

