.jpg)
आफ्ना अभिव्यक्तिका कारण अक्सर चर्चा र विवादमा आइरहने कलाकार हुन्, परेश रावल । उनले बलिउडभित्रको माफियादेखि राजनीतिक गतिविधिलाई लिएर विभिन्न टिप्पणी गरिरहेका हुन्छन् । यतिबेला भने उनी ‘हेरा फेरी ३’मा फर्किएको विषय र ओटीटी कन्टेन्टबारे दिएको अभिव्यक्तिका कारण चर्चामा छन् । उनले ओटीटीका कारण कन्टेन्ट एकदमै खराब भइरहेको बताएका छन् ।
वेब सिरिजमा देखाइने इन्टिमेट सिन र गाली बिना मतलबको हुने तर्क गर्दै उनले भनेका छन्, ‘यो बिना मतलबको चिज मेकरहरू ध्यान खिच्नका लागि राख्ने गर्छन् । तर, यसबाट अब दर्शक दिकदार भइसकेका छन् । हरेक दोस्रो-तेस्रो सिरिजमा बिना मतलबको गाली र सेक्स सिन हुन्छ । यसको कथा र सिनसँग कुनै लेनादेना नै हुँदैन । मेकर्सलाई चाहिँ लाग्छ कि यसले सबैको ध्यान खिच्छ ।’
भाजपाका नेता समेत रहेका परेशले ओटीटीका सिरिजमा राखिने गाली र सेक्स सिनलाई ‘सस्तो रणनीति’को संज्ञा दिएका छन् । उनी अगाडि भन्छन्, ‘मलाई यस्तो लाग्न थालेको छ कि यी केवल आँखा तान्ने ‘सस्तो रणनीति’ मात्र हुन् । तर, दर्शकहरू थाकिसके । जब निर्माताहरू रोकिएनन्, तब सरकारले नै हस्तक्षेप गर्नुपर्यो । अहिले सरकार वेब सिरिजलाई संस्कारी बनाउने प्रयासमा छ ।’
फिल्मकर्मी समाजको ऐना भए पनि समाजका कति कुरा देखाउन नमिल्ने उनको बुझाइ छ । भन्छन्, ‘समाजमा जे हुन्छ, त्यसलाई फिल्ममार्फत देखाइन्छ । यसैले हामी समाजका ऐना हौं । तर, हामीले हाम्रो विवक बुद्धि सही तरिकाले प्रयोग गर्नुपर्छ । किनकि, समाजमा हुने हरेक कुरा फिल्ममा देखाउन लायक हुँदैनन् । फिल्ममेकरले केही चिज संकेत वा छोटो रूपमा देखाउन सक्नुपर्छ ।’

