.jpg)
अभिनेत्री श्वेता खड्काले फिल्मबाट ब्रेक लिएको करिब ७ वर्ष भइसकेको छ । उनी पछिल्लो पटक आफैंले निर्माण गरेको फिल्म ‘कान्छी’मा देखिएकी थिइन् । यसपछि उनले बाहिरी ब्यानरका केही फिल्म सम्झौता गरे पनि कुनै बन्दै बनेनन् भने कुनैबाट आफैं बाहिरिइन् । यतिबेला उनी आफ्नै विभिन्न व्यवसायमा व्यस्त छिन् । इन्जिनियरिङ क्षेत्रदेखि कफी सपसम्म उनको ठूलो लगानी छ ।
अहिले श्वेताले वास्तविक जीवनमा आमाको भूमिका पनि निभाइरहेकी छन् । उनकी एक छोरी छिन्, साढे २ वर्षकी । उनले फिल्मबाट विश्राम लिनुको कारण छोरी नै हुन् । हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा भेटिएकी उनले सञ्चारकर्मीसँगको कुराकानीमा अहिले आफ्नो बेबी टाइम रहेको बताएकी छन् । छोरी स्कूल जाने भएपछि आफू फिल्ममा फर्किने उनको भनाइ छ ।
श्वेताले कमब्याकबारे भनेकी छन्, ‘बेबी सानो भएकाले मैले फिल्मबाट विश्राम लिएको हुँ । बेबी हुर्किसकेपछि म अवश्य पनि कमब्याक हुन्छु । अभिनयमा नआए पनि प्रोडक्सन (निर्माण)बाट आउन सक्छु । अहिले चाहिँ मेरो बेबी टाइम हो । हुन त सबैले आ-आफ्नो करिअरलाई फोकस गरिराख्नु भएको छ । तर, मेरो बेबी अहिले सानो छ । स्कूल गएपछि कमब्याक अवश्य नै हुन्छ ।’
‘कहाँ भेटिएला’बाट अभिनय करिअर सुरु गरेकी श्वेताले त्यसयता चारवटा फिल्ममा काम गरेकी छन् । उनको करिअरमा सर्वाधिक कमाइ गर्ने फिल्म भने ‘कोहिनूर’ हो । हालै चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सर्वाधिक कमाइ गर्ने २५ फिल्मको सूचीमा यो नवौं स्थानमा छ । १४ करोडमाथि कमाइ गरेको यो फिल्ममा श्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठको जोडी भएर अभिनय गरेकी छन् ।

