Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘यो मन त मेरो नेपाली हो’ बालबालिकालाई देखाउन उपयुक्त छ : पाठ्यक्रम विकास केन्द्र

फिल्मीखबर, काठमाडौं, 2025/07/01

yo man ta mero nepali ho

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले फिल्म ‘यो मन त मेरो नेपाली हो’ विद्यालयस्तरका बालबालिकाहरूलाई देखाउन उपयुक्त रहेको बताएको छ । केन्द्रका निर्देशक विजयराज बढुले फिल्मका निर्मातालाई पठाएको शुभकामना सन्देशमा फिल्मले बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति उच्च सम्मान महसुस गराउने जनाइएको छ । 

शुभकामना पत्रमा भनिएको छ, ‘भविष्यका कर्णाधार आजका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकाले विशेषतः विद्यालयस्तरका बालबालिकालाई ‘यो मन त मेरो नेपाली हो’लाई सरोकारवाला निकायको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ ।’

यो फिल्म विशुद्ध नेपाली भाषा तथा संस्कृतिमा आधारित रहेकाले यस्ता प्रकृतिका फिल्मलाई राज्यका निकाय तथा सरोकारवाला समाजिक संघ-संस्थाहरूले संरक्षण तथा संवर्द्धन गर्नुपर्ने केन्द्रले पठाएको पत्रमा उल्लेख छ । देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण फिल्म बनाएकोमा केन्द्रले निर्माण टिमलाई धन्यवाद ज्ञापन गरेको छ । 

यही असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा मित्र प्रधान (नर)को निर्देशन रहेको छ । यसमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय गरेका छन् । फिल्मले नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई दर्शाउने जनाइएको छ ।