चलचित्र विकास बोर्डले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा सर्वाधिक कमाउने २५ फिल्मको सूची सार्वजनिक गर्दै सम्बन्धित निर्मातालाई सम्मान गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बोर्डले २०५७ असार १६ गतेदेखि २०८२ साल जेठ मसान्तसम्म धेरै कमाइ गर्ने २५ फिल्मका निर्मातालाई विशेष सम्मान गरेको हो । २५ फिल्मको सूचीमा ‘पूर्णबहादुरको सारंगी’ शीर्षस्थानमा छ भने सबैभन्दा पुच्छारमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ रहेको छ ।
बोर्डले सार्वजनिक गरेको सूचीमा ‘पूर्णबहादुरको सारंगी’को कमाइ ४६ करोड ८७ लाख ४१ हजार उल्लेख छ । यसको १७ लाख टिकट बिक्री भएको थियो । उक्त सूचीको दोस्रो स्थानमा २१ करोड १४ लाख कमाइ गर्दै ‘कबड्डी ४’ परेको छ भने १९ करोड ९२ लाखसहित ‘१२ गाउँ’ले तेस्रो स्थान ओगटेको छ । चौथो स्थानमा १७ करोड ५३ लाखसहित ‘छक्का पञ्जा ४’ रहेको छ ।
त्यस्तै, जारी पाँचौं (१७ करोड ४८ लाख), छक्का पञ्जा छैठौं (१६ करोड १० लाख), महाजात्रा सातौं (१५ करोड ६७ लाख), छक्का पञ्जा ५ आठौं (१५ करोड २० लाख), कोहिनूर नवौं (१४ करोड ७५ लाख), छक्का पञ्जा २ दशौं (१४ करोड ५१ लाख), शत्रु गते ११औं (१२ करोड ६५ लाख), ऊनको स्वीटर १२औं (१० करोड ६२ लाख), कबड्डी २ १३औं (१० करोड ३५ लाख), बोक्सीको घर १४औं (१० करोड १० लाख), छ माया छपक्कै १५औं (९ करोड ९२ लाख) स्थानमा छ ।
यसैगरी, दिमाग खराब १६औं (८ करोड ९८ लाख), अञ्जिला १७औं (८ करोड ८३ लाख), परदेशी २ १८औं (७ करोड ९२ लाख), छक्का पञ्जा ३ १९औं (७ करोड ८३ लाख), प्रेमगीत ३ २०औं (७ करोड ६३ लाख), कबड्डी कबड्डी कबड्डी २१औं (७ करोड ५९ लाख), पूजार सार्की २२औं (७ करोड ३८ लाख), महापुरुष २३औं (७ करोड ३५ लाख), कबड्डी २४औं (७ करोड ३४ लाख) र ‘पशुपति प्रसाद २ : भष्मे डन’ ७ करोड ३२ लाखसहित २५औं स्थानमा छ ।
बोर्डले सार्वजनिक गरेको सूचीमा ‘छक्का पञ्जा’ समूहको मात्र ६ वटा फिल्म परेको छ । त्यस्तै, ‘कबड्डी’ समूहको ‘जारी’सहित पाँच र ‘जात्रा’ समूहको दुईवटा फिल्म परेका छन् । ‘स्टार’ कहलिएका अनमोल केसीको भने एउटा पनि फिल्म परेको छैन । उनका प्रतिस्पर्धी मानिने प्रदीप खड्काको भने ‘पूजार सार्की’ र ‘प्रेमगीत ३’ सर्वाधिक कमाउने २५ फिल्मको सूचीमा अटाएका छन् ।
बोर्डको वार्षिकोत्सव कार्यक्रममा बक्स अफिस एप उद्घाटन, ‘चलचित्रमा नेपालको पहिलो’ पुस्तक विमोचन, बोर्डबाट प्रदान गरिने ३३ वटा सेवाहरुको अनलाइन सर्भिस उद्घाटन, ‘आमा’ फिल्मको पोस्ट अङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान र असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको जानकारी समेत गरिएको थियो ।


