
हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ । हास्यरसले भरिएको २ मिनेट लामो टिजरमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को शान-सौकत र ऐस-आरामयुक्त जिन्दगी देखाइएको छ । उनको पात्र पैसाको तुजुकमा आफूलाई राजा ठान्ने गर्छ । टिजरमा उनी दुई अलग गेटअपमा प्रस्तुत छन् ।
टिजरको सुरुवात केदार सेतो घोडा चढेर गाउँलेलाई पैसा बाँडेको दृश्यबाट हुन्छ । त्यसपछि उनी श्रीपेच खोज्न काठमाडौं गएको र श्रीपेच लगाएर बाइक चलाएको दृश्य देख्न सकिन्छ । उनी पैसामाथि सुतेकोदेखि युवतीहरुसँग मस्ती गरेको दृश्यसम्म टिजरमा छन् । एउटा सामान्य व्यक्तिले मेहनत बिना नै अकूत पैसा पाएपछि गर्ने ऐस-आरामको कथामा फिल्म बनेको टिजरबाट बुझ्न सकिन्छ ।
केदार पूरापूर हाबी रहेको टिजरमा विल्सन विक्रम राई र वर्षा सिवाकोटीलाई पनि स्थान दिइएको छ । तर, २ मिनेटको टिजरमा वर्षा १० सेकेण्डमा सीमित छिन् । यसले फिल्ममा उनको भूमिकालाई लिएर संशय उब्जाउँछ । टिजरको सबैभन्दा बलियो पक्ष संवाद देखिन्छ । केदारले बोल्ने संवादहरु रमाइला र व्यंग्यात्मक छन् । टिजरले दर्शकमा फिल्मप्रति उत्सुकता बढाउने निश्चित छ ।
ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा केदार, वर्षा र विल्सनसहित शिशिर वाङ्देल, शारदा गिरी, राधिका कँडेल, पवित्रा साकी (मिस पवी) लगायतको पनि अभिनय रहेको छ । आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरे प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन तथा मित्र गुरुङको सम्पादन रहेको छ ।

