Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘यानीमाया’मा पलको जोडी बन्दै अञ्जना

फिल्मीखबर, काठमाडौं, 2025/06/30

Paul Shah AND ANJANA PUN

 

विकास सुवेदीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘यानीमाया’मा मोडल अञ्जना पुन मगरले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । दुई दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेकी उनले यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । उनलाई अडिसनबाट निर्माण टिमले छनोट गरेको हो । फिल्ममा उनी अभिनेता पल शाहको जोडी बनेर देखिनेछिन् ।

अञ्जनाले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ जस्ता उपाधिहरू जितेकी छिन् । सन् २०२४ को ‘मिस नेपाल प्रतियोगिता’मा उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स’ अवार्ड प्राप्त गरेकी थिइन् । ‘मायालाई पानको पात’ गीतमा अभिनय गरेपछि चर्चामा आएकी उनले पलसँग केही भिडियोमा काम गरिसकेकी छन् ।

‘यानीमाया’मा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको सङ्घर्ष जस्ता विषयहरुलाई समेटिने निर्देशक सुवेदीले बताएका छन् । आगामी साउनमा बागलुङको ढोरपाटनबाट फिल्मको छायांकन सुरु गरिँदैछ । दोस्रो चरणको छायांकन भने हङकङमा गर्ने तयारीमा निर्माण पक्ष छ । 

‘सङ्स अफ माई ग्रान्डमदर’ ट्यागलाइन दिइएको ‘यानीमाया’लाई पल शाहले निर्माण गर्नेछन् । यही फिल्मबाट उनले निर्माणमा हात हाल्न लागेका हुन् । पल शाह फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा पलसँगै चन्द्रज्योति आले निर्मातामा रहेकी छिन् । पल र अञ्जनाबाहेक फिल्मको थप ‘कास्ट एन्ड क्रु’बारे जानकारी गराइएको छैन ।