आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसर पारेर युट्युबमार्फत सार्वजनिक टिजरले फिल्मको सेटिङ, परिवेश, केन्द्रीय द्वन्द्व र चरित्र चित्रणबारे प्रकाश पारेको छ । रोल्पाको सेटिङमा फिल्मको कथा भनिएको टिजरबाट बुझ्न सकिन्छ ।
‘जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट टिजर सुरु भएको छ । यसले जुम्ला र रोल्पामा जीवनजल र सिटामोलको महत्त्व कति छ भन्ने भाव दर्शाउँछ । टिजरमा विशेषगरी फिल्मका मुख्य जोडी सौगात मल्ल र बेनिशा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि पैसाको अभावले आउने उतार-चढावलाई देखाइएको छ ।
राजबहादुर सानेको निर्देशनमा तयार भएको फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, आरआर खड्का, पवन भट्टराई, बाल कलाकारहरु करण परियार, आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् ।
सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् । यसमा बाबुल गिरीको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन तथा दिव्य सुवेदीको छायांकन रहेको छ ।

