Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शिरीषको फूल’ नाटकबाट अभिनयमा फर्किँदै जीवन लुइँटेल

फिल्मीखबर, काठमाडौं, 2025/06/29

Shirish ko Phool

 

कुनै बेला नेपाली फिल्ममा आफ्नो बलियो पकड बनाएका अभिनेता जीवन लुइँटेल एक दशकदेखि अभिनयमा सक्रिय छैनन् । फिल्महरु लगातार असफल भएपछि अमेरिका बस्न थालेका उनी अब भने अभिनयमा फर्किने भएका छन् । तर, उनको फिल्मबाट नभएर नाटकबाट अभिनयमा पुनरागमन हुन लागेको हो । उनले ‘शिरीषको फूल’ उपन्यासमा आधारित नाटक खेल्न लागेका हुन् ।

कान्तिपुर थिएटरले पत्रिका घिमिरेको निर्देशनमा आगामी साउन १ गतेदेखि मञ्चन गर्न लागेको उक्त नाटकमा जीवन मुख्य पात्र सुयोगवीरको भूमिकामा देखिने जनाइएको छ । नाटकका लागि उनी आगामी साता नेपाल आउँदैछन् । आफ्नो सक्रिय करिअरमा २५ भन्दा बढी फिल्ममा काम गरेका उनले नाटकको भने अनुभव लिएका थिएनन् । ‘शिरिषको फूल’ उनको पहिलो नाटक हुनेछ ।

नाटकमा जीवनलाई लिनुको कारणबारे कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सीइओ प्रकाश पुरीले भनेका छन्, ‘हामीलाई साहित्यमा पकड र अभिनयमा गहिरो अनुभूति भएको उमेर र अनुभवका आधारमा परिपक्व पात्र चाहिएको थियो । त्यसमा उहाँलाई सुहाउने देखेपछि प्रस्ताव राख्यौं । उहाँ राजी हुनुभयो । उहाँको पुनरागमनका लागि रंगमञ्च उपयुक्त माध्यम हो ।’

कान्तिपुर थिएटरले रंगमञ्चको अनुभव नभएका फिल्मका कलाकारलाई लिएर एकपछि अर्को नाटक बनाइरहेको छ । यसअघि अभिनेत्री रेखा थापालाई मुख्य भूमिकामा लिएर ‘मीरा’ नाटक मञ्चन गरिएको थियो, जसले राम्रो चर्चा कमायो । यो रेखाको पहिलो नाटक थियो । अब ‘शिरीषको फूल’बाट जीवन लुइँटेलले अभिनयमा कमब्याक गर्न लागेकाले यसको पनि ठूलो चर्चा हुने देखिन्छ ।