
गायक तथा अभिनेता दिलजीत दोसान्झको नयाँ फिल्म ‘सरदार जी ३’ विवादमा तानिएको छ । यसको मुख्य कारण हो, पाकिस्तानी कलाकारले अभिनय गर्नु । फिल्ममा पाकिस्तानकी चर्चित अभिनेत्री हानिया आमिरसहित चारजना कलाकारले अभिनय गरेका छन् । उनीहरूकै कारण भारतमा यो फिल्मलाई प्रतिबन्ध गर्नुपर्ने माग उठेपछि निर्माताले पाकिस्तानमा मात्र फिल्म रिलिज गरेका छन् ।
‘सरदार जी ३’ दिलजीत आफैंले निर्माण र अभिनय गरेको फिल्म हो । भारत-पाकिस्तानबीच पानी बाराबारको सम्बन्ध हुँदाहुँदै पनि त्यहाँका कलाकारलाई फिल्ममा लिएको भन्दै दिलजीतमाथि नै प्रतिबन्धको माग गरिएको छ । उनका कन्सर्टदेखि फिल्मसम्म बहिष्कार गर्नुपर्छ भन्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । यसले उनको करिअरलाई नै संकट पार्न खतरा बढेको छ ।
‘सरदार जी ३’का कारण फिल्म ‘बोर्डर २’ समेत निशानामा परेको छ । किनकि, यो फिल्ममा दिलजीत छन् । उनलाई फिल्मबाट निकाल्न केही समूहले निर्मातालाई दबाब दिइरहेका छन् । केही दिनयता उनलाई फिल्मबाट निकालिएको चर्चा पनि चलिरहेको छ । तर, यसमा कुनै सत्यता छैन । फिल्मको ४०/५० प्रतिशत छायांकन भइसकेकाले उनलाई हटाउन सम्भव नरहेको बताइएको छ ।
‘बोर्डर २’मा दिलजीत करिब ९ महिनाअघि नै अनुबन्ध भएका हुन् । अहिले ‘सरदार जी ३’का कारण उनलाई प्रतिबन्ध गर्नुपर्ने माग उठ्न थालेपछि फिल्मको टिम तनावमा देखिएको छ । अब यो विवाद साम्य नभएसम्म फिल्म रिलिज नगर्ने सोचमा निर्माता रहेको बताइन्छ । जिपी गुप्ताको निर्देशन रहेको यो फिल्ममा दिलजीतसँगै सनी देओल, वरुण धवन, अहान सेट्टी लगायतको अभिनय छ ।

