Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मालती मंगले’मा विजय र वर्षाको जोडी

फिल्मीखबर, काठमाडौं, 2025/06/27

Barsha Raut and Bijay Baral

 

गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको फिल्म ‘मालती मंगले’को मुख्य भूमिकामा दुई कलाकार तय भएका छन् । निर्माण पक्षले शुक्रबार अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतलाई फिल्ममा अनुबन्धित गरेको हो । यसमा विजयले मंगले र वर्षाले मालतीको भूमिका निभाउनेछन् । यसअघि उनीहरुले ‘मिस्टर झोले’मा सहकार्य गरेका थिए ।

गायक ढकालको कम्पनी रानी म्युजिक इन्टरनेशनलको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । यसको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् भने कथा निर्देशक पाण्डेय स्वयंको हो । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्मलाई महेश पौडेलले छायांकन गर्नेछन् । 

निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ विल्कुलै पारिवारिक प्रेमकथामा आधारित भएर बन्नेछ । उनले अहिले नै विजय र वर्षाको भूमिकाबारे जानकारी दिन नमिल्ने बताएका छन् । यो फिल्मका लागि विजय र वर्षाले ३ महिना अन्य फिल्ममा काम नगर्ने जनाइएको छ । उनीहरूले आफ्नो चरित्र निर्माणको लागि यो समय सदुपयोग गर्नेछन् । 

विजय बस्यालको पोस्टर डिजाइन, रोमी तण्डुकारको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, राजनराज सिवाकोटीको संगीत तथा राजेन्द्र थापाको गीत रचना रहने फिल्मको छायांकन आगामी भदौको पहिलो हप्तादेखि करिब ४० दिनको तालिकासहित सुरु हुने कार्यकारी निर्माता ज्ञवालीले बताए । उनका अनुसार ‘मालती मंगले’लाई यसै वर्षको अन्त्यतिर प्रदर्शन गरिनेछ ।