Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोन र करिश्मा फिल्म खेल्न तयार

फिल्मीखबर, काठमाडौं, 2025/06/27

Salon Basnet And Karishma KC Basnet

 

अभिनेता सलोन बस्नेत र मोडल तथा एयर होस्टेस करिश्मा केसीले विवाहभन्दा अगाडि नै केही म्यूजिक भिडियोमा जोडी भएर काम गरिसकेका थिए । विवाहपछि पनि यो रोकिएको छैन । केही सातायता उनीहरूको एकपछि अर्को म्यूजिक भिडियो युट्युबमा सार्वजनिक भइरहेका छन् । ती भिडियोको कमेन्टमा धेरैले उनीहरूलाई अब फिल्ममा पनि जोडी बनेर देखिन आग्रह गरेका छन् ।

बिहीबार फिल्म ‘पीआर’को टिजर रिलिज कार्यक्रममा पुगेका सलोन र करिश्मालाई पत्रकारले सोधेका थिए, ‘तपाईंहरूको अब फिल्म चाहिँ कहिले आउँछ ?’ यसको जवाफमा सलोनले आफ्नो पनि यही इच्छा रहेको बताए । उनले भने, ‘हामीले लगातार भिडियो गरिरहेका छौं । राम्रो पनि भइरहेको छ । फिल्म पनि चाँडै गर्न पाइयोस् भन्ने चाहना छ । त्यो चाँडै पूरा होस् भन्ने चाहन्छु ।’

करिश्माले पनि सलोनसँग फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेकी छन् । तर, उनी होम प्रोडक्सन (घर)को फिल्मबाट डेब्यु नगर्ने अडानमा छिन् । भन्छिन्, ‘बुबा (शोभित बस्नेत)ले मलाई लञ्च गर्नुभयो भने बुहारीलाई खेलायो भन्ने हुन्छ । सलोनले लञ्च गर्‍यो भने बुढीलाई खेलायो भनिन्छ । त्यो नपरोस् भनेर हो । यदि कसैलाई मलाई लिन इच्छा लागेको छ भने लिनुहोला । म रेडी छु (हाँस्दै) ।’

उनले अहिलेसम्म आफूलाई फिल्मबाट अफर नआएको बताएकी छन् । ‘मलाई कुनै फिल्मबाट अफर चाहिँ अहिलेसम्म आएको छैन । धेरैलाई मैले होम प्रोडक्सनकै फिल्मबाट डेब्यु गर्ने होला भन्ने लागेको हुनसक्छ । तर, म होम प्रोडक्सनको फिल्मबाट डेब्यु चाहिँ गर्दिनँ,’ उनले भनिन् । बाहिरी ब्यानरको फिल्मबाट अफर आएको अवस्थामा आफू काम गर्न तयार रहेको उनको भनाइ छ ।