Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असफल फिल्मबाट ६६ प्रतिशत पारिश्रमिक नलिने निर्मल शर्माको घोषणा

फिल्मीखबर, काठमाडौं, 2025/06/26

Nirmal Sharma

 

यतिबेला कलाकारहरुले महँगो पारिश्रमिकमा फिल्म सम्झौता गरिरहेको चर्चा चलिरहेको समयमा कलाकार तथा निर्माता निर्मल शर्मा ‘गैंडा’ले भने आफूले खेलेको असफल फिल्मबाट पाउन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले बिहीबार फेसबुकमा एक पोस्ट गर्दै निर्माता बचाउन आफूले यो निर्णय लिएको जनाएका छन् । 

उनले लेखेका छन्, ‘म कलाकारिता रुचाउने सामान्य कलाकार, फिल्म क्षेत्रप्रतिको अगाध प्रेम र निर्माता पहिले सुरक्षित हुनुपर्छ अनि मात्र यो क्षेत्र चलायमान हुन्छ भन्ने मान्यता राख्छु । मैले कुनै महान काम त गरेको हैन तर हालसालै प्रदर्शन भएको आफूले पनि खेलेको फिल्मले नसोचेको असफलता पाएपछि निर्माताको ज्यादै माया लाग्यो । सम्झौता पत्र हातमै छ, लिन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने निर्णय गरेँ । मनले मानेन ।’ 

निर्मल शर्माको यो निर्णयको निर्देशकदेखि निर्मातासम्मले प्रशंसा गरेका छन् । ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामाले हरेक कलाकारलाई यस्तै बुद्धि आउनुपर्ने बताएका छन् । कलाकार कमलमणि नेपालले भने निर्माता आफैंले बानी विगारेको तर्क गरेका छन् । उनी लेख्छन्, ‘सुरुमा पैसा ठिक्क दिए हुँदैन । दिँदा भकारी नै भरिने गरी दिएपछि महादेवका त तीन नेत्र खुल्छ अरुका के ? बुझ्नु पर्ने चाहिँ निर्माताले नै हो ।’

त्यस्तै, कलाकार तथा निर्माता दीपकराज गिरीले निर्मल शर्माको निर्णयको प्रशंसा गर्दै यसरी कलाकारले पैसा नलिने निर्णय गरे वर्षमा ३ सय फिल्म बन्ने भन्दै व्यंग्य गरेका छन् । उनी लेख्छन्, ‘एकदम राम्रो हो । तर, यतिका फिल्म असफल हुँदा त वर्षको १५० फिल्म बन्दैछ । त्योमाथि कलाकारले असफल फिल्मको पैसा यसरी फिर्ता दिने हो भने त वर्षको ३०० वटा फिल्म बन्ला नि फेरि ।’