Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऐरी’को छायांकनमा सोनमको खुट्टा भाँचियो

फिल्मीखबर, काठमाडौं, 2025/06/25

Sonam Topden (2)

 

एक महिनादेखि बागलुङको ढोरपाटन क्षेत्रमा छायांकन भइरहेको फिल्म ‘ऐरी’मा लडाइँको दृश्य खिच्ने क्रममा अभिनेता सोनम तोप्देनको खुट्टा भाँचिएको छ । उनको बायाँ खुट्टा भाँचिएको हो । यसको जानकारी उनी स्वयंले सामाजिक सञ्जालमार्फत गराएका छन् । उनले खुट्टाको एक्स-रे तस्वीर फेसबुक स्टोरीमा सेयर गर्दै यो आफ्नो जीवनकै सबैभन्दा दर्दनाक क्षण रहेको बताएका छन् ।

सोनमले लेखेका छन्, ‘सेटमा एक लडाइँको दृश्यको क्रममा मेरो बायाँ खुट्टा भाँचिएको छ । सायद यो मेरो जीवनको सबैभन्दा भयानक र दर्दनाक क्षण हो । अहिले प्रार्थना र धैर्यका साथ विस्तारै ठीक हुँदैछु ।’ उनको एक सातादेखि पोखराको नागढुङ्गास्थित चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । हेलिकोप्टर चार्टर्ड गरेर उनलाई फिल्मको सेटबाट अस्पताल लगिएको थियो ।

प्राप्त जानकारी अनुसार फिल्मका मुख्य अभिनेता प्रदीप खड्काले रुखबाट हामफालेर किक हान्नुपर्ने दृश्य खिच्ने क्रममा उनको खुट्टा सीधै सोनमको खुट्टामा ठोकिएको थियो । जसले गर्दा यस्तो घटना हुन पुगेको हो । सोनमको खुट्टा भाँचिएपछि उनको भागको छायांकन अनिश्चित बनेको छ । अब कम्तिमा ६ महिनाभन्दा अगाडि उनको भागको छायांकन गर्न असम्भव रहेको जनाइएको छ ।

 

Sonam Topden


‘ऐरी’को छायांकन सकाएपछि सोनम आगामी भदौबाट अर्को फिल्म ‘जलाकी’मा काम गर्ने तयारीमा थिए । तर, अब यो फिल्मको छायांकन केही महिना पछाडि धकेलिने निश्चित छ । ‘सम्हालिन्छ कहिले मन’बाट डेब्यु गरेका सोनमलाई गत वर्ष प्रदर्शनमा आएको ‘शाम्बाला’ले चर्चामा ल्याएको थियो । यसमा उनको अभिनयको निकै सरहाना भयो । यसपछि फिल्ममा उनको माग चुलिएको छ ।