
आगामी साउन १६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘रियाल रिङ्गेट’को ओएसटी गीत ‘जिन्दगी’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक उक्त गीतमा रवि मल्ल र कोसिस क्षेत्रीको शब्द रचना, चन्दन ध्वज केसी र किरण तुलाधरको संगीत तथा केतन क्षेत्रीको स्वर रहेको छ । गीतलाई किरण तुलाधरले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा रोजगारीका लागि विदेशिएका नेपाली युवाहरूले भोग्नुपरेको बर्बर यातना र उनीहरूको घरपरिवारको विचलित अवस्थालाई देखाइएको छ । गीत सार्वजनिक कार्यक्रममा कवि नाथन रायनले मजदुरका रूपमा विदेशिन बाध्य नेपालीहरूको मार्मिक भावना पोखिएको कविता वाचन गरेका थिए भने केतन क्षेत्रीले प्रत्यक्ष गीत गाएर उपस्थितलाई मन्त्रमुग्ध पारेका थिए ।
विभोर पोखरेलको निर्देशन तथा गगनलाल प्रधानको निर्माण रहेको फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतले अभिनय गरेका छन् । यसको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् ।
फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत तथा राजीव समरको कोरियोग्राफी रहेको छ । फिल्मको नाम (रियाल रिङ्गेट) कतार र साउदी अरबको मुद्रा ‘रियाल’ तथा मलेसियाको मुद्रा ‘रिङ्गेट’को मिश्रणबाट बनेको हो, जसले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकलाई सङ्केत गर्छ ।

