
किरण राईको निर्देशनमा बनेको फिल्म ‘नाकछोङ’ (बिजुवा)को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार भुवन सिंह राई चित्रित छन् । उनी निराश भावमा झोला भिरेर कतै हिँडिरहेका देखिन्छन् । पोस्टरको पृष्ठभूमिमा काठमाडौंको दृश्य र ढ्याङ्ग्रो बजाइरहेका झाँक्री पात्रलाई देख्न सकिन्छ । पोस्टरले फिल्मको विषयवस्तु गहन रहेको बुझाउँछ ।
ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्ममा भुवनसहित यासेली योङ्हाङ, सुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङ्बाङ लगायतको अभिनय छ । फिल्ममा निर्देशक राई स्वयंको लेखन छ भने पोपीराज राई यसका निर्माता हुन् ।
बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा राजन मुकारुङ र विष्णु किरातीको शब्द रचना तथा दिनेशकाजी वान्तवा, अनिल कोई राईको संगीत छ । कार्यकारी निर्माता रमु श्रेष्ठ रहेको फिल्मको पटकथा निर्देशक किरण र निर्माता ज्योतीराजले मिलेर लेखेका हुन् । फिल्मलाई स्वदेश तथा विदेशका विभिन्न महोत्सवमा देखाएपछि सार्वजनिक प्रदर्शन गरिने जनाइएको छ ।
निर्माता राईले आफ्नो समुदायमा हरेक चाड, विवाह, कुलपितृ, मर्दापर्दा आवश्यक पर्ने बिजुवा (नकछोङ)को संरक्षणका लागि फिल्म बनाएको बताएका छन् । झारफुक गर्ने धामी-झाँक्रीलाई बिजुवा भन्ने गरिन्छ । ज्योतीराजले यसअघि ‘लुङ्गा’, ‘संगम’, ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’, ‘प्रोडूसर’ लगायतका फिल्म निर्माण गरेका छन् ।

