
गत चैतमा प्रदर्शन भएको ‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो फिल्मको रुपमा ‘तथास्तु’ बनाउने भएका छन् । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो । सन् २०२७ मा रिलिज लक्ष्य राखिएको फिल्मलाई नेपाली र हिन्दी भाषामा तयार गरिने जनाइएको छ ।
एजी. सेभेन प्रोडक्सनको प्रस्तुतिमा बन्न लागेको फिल्ममा नयाँ पुस्ताका चर्चित कलाकारहरूलाई मुख्य भूमिकामा लिइने निर्देशक लामाले बताए । उनका अनुसार फिल्ममा भारतीय कलाकारहरुको पनि अभिनय रहनेछ ।
नेपाल र भारतमा छायांकन गर्न लागिएको फिल्ममा भगवानको लोक र मानिसहरूको लोकबीचको कथा समेटिनेछ । आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व, र सामाजिक यथार्थबीचको द्वन्द्वलाई फिल्ममा प्रस्तुत गरिने निर्देशक लामाले बताए । दुई चरणमा छायांकन गर्न लागिएको फिल्मलाई अर्को वर्ष (२०८३)को सुरुवातमा खिच्ने तयारी गरिएको छ ।

