Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ५’ : चर्चा पलको, भित्रिए अनमोल

फिल्मीखबर, काठमाडौं, 2025/06/23

anmol kc

 

केही महिनाअघि निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले अभिनेता पल शाहसँग भेट गरेको एक तस्वीर बाहिरिएपछि फिल्म ‘ए मेरो हजुर ५’मा उनीहरूबीच सहकार्य हुन लागेको चर्चा चलेको थियो । तर, अब कथामा नयाँ ट्वीस्ट आएको छ । उक्त फिल्ममा पल नभइ अभिनेता अनमोल केसी भित्रिएका छन् । सोमबार साँझ निर्माता थापाले उनीसँग लिखित सम्झौता गरेका हुन् ।

अनमोल स्वयंले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्ममा आफू अनुबन्धित भएको जनाएका छन् । उनले लेखेका छन्, ‘लामो समयको विश्राम पश्चात एउटा नयाँ अध्यायको सुरुवात गर्दैछु । ‘जेरी अन टप’, ‘बाटुलो जुन’ र ‘ए मेरो हजुर ५’मार्फत नेपाली फिल्म उद्योगमा नयाँ जोशका साथ हजुरहरूमाझ उपस्थित हुन लागेको यो खुसीको कुरा सुनाउन पाउँदा म निकै उत्साहित र हर्षित छु ।’

त्यस्तै, झरनाले फेसबुक पोस्टमार्फत फिल्ममा अनमोललाई स्वागत गरेकी छन् । ‘मेगास्टार अनमोल केसी भाईलाई ‘ए मेरो हजुर ५’मा स्वागत छ । ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’पछि हामी तेश्रो पटक सहकार्य गर्दैछौं । यो सहकार्यले भविष्यमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गर्दै ‘ए मेरो हजुर ५’लाई उत्कृष्ट बनाउन कुनै प्रयास बाँकी नराख्ने प्रण गर्दछौं,’ उनले लेखेकी छन् ।

आगामी असोजबाट छायांकन सुरू गर्न लागिएको यो फिल्ममा अनमोलको जोडी अभिनेत्री सुहाना थापासँग बाँधिनेछ । यसअघि उनीहरूले ‘ए मेरो हजुर’को तेस्रो र चौथो श्रृंखलामा सहकार्य गरिसकेका छन् । एकपटक फेरि यो जोडीलाई पर्दामा हेर्न दर्शकहरू उत्साहित देखिएका छन् । ‘ए मेरो हजुर ५’भन्दा अघि अनमोलले ‘बाटुलो जुन’ र सुहानाले ‘परालको आगो’को छायांकन सक्नेछन् ।