Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पौराणिक र फेन्टासी कथामा फिल्म ‘महाकाव्य’ बन्ने

फिल्मीखबर, काठमाडौं, 2025/06/23

mahakabya thiem poster

 

फरक धारको कथा, स्तरीय भिजुअल इफेक्ट्स (भीएफएक्स) र सशक्त एक्सनमा फिल्म ‘महाकाव्य’ निर्माण हुने भएको छ । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्मको निर्माण घोषणा गरियो । पोस्टरमा दुई धारिलो भालाबीचको टकरावको दृश्य देख्न सकिन्छ । जसमध्ये एउटा भालामा आगो बलिरहेको छ । यसले युद्धको कथामा फिल्म बन्न लागेको संकेत गर्छ ।

खुसी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई मदन खड्काले निर्देशन गर्नेछन् । यसअघि दर्जनौं म्यूजिक भिडियो निर्देशन गरिसकेका उनले ‘महाकाव्य’बाट फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन् । शान्ति मगरको निर्माण रहने फिल्ममा शुक्रराज शाहको द्वन्द्व निर्देशन रहनेछ । 

‘महाकाव्य’ले दर्शकलाई अद्भूत सिनेम्याटिक अनुभव दिने निर्देशक खड्काको दाबी छ । उनी भन्छन्, ‘ऐतिहासिक, पौराणिक र आधुनिक फेन्टासीको संयोजनमा फिल्म आधारित हुनेछ । नेपाली संस्कृति, मिथक (अलौकिक घटना), र हराउँदै गएका पवित्र स्थलहरुको कथालाई भिजुअलको माध्यमबाट प्रस्तुत गर्नेछौं । यो नेपाली फिल्मको इतिहासमै नयाँ युगको सुरुवात हुनसक्छ ।’

आगामी भदौबाट छायांकन सुरु गर्न लागिएको फिल्मको मुख्य भूमिकामा एक कलाकारलाई प्रस्तुत गरिँदैछ । ती कलाकारको नाम भने सार्वजनिक गरिएको छैन । उनले लामो समयदेखि शारीरिक रुपमा परिवर्तन गर्नुका साथै एक्सन र नृत्यको तालिम लिएका छन् । हाल उनी अन्तिम तयारीमा छन् । फिल्मलाई यसै वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।