.jpg)
साहित्यकार तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको भन्दै अभिनेता अनमोल केसीसहित फिल्म ‘फर्की फर्की’ टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका छन् । उनले सोमबार वारेसमार्फत फिल्मको टिमलाई कारबाहीको माग गर्दै मुद्धा हालेका हुन् ।
‘फर्की फर्की’मा अनमोलले अभिनेत्री जसिता गुरुङलाई आफ्नो नम्बर दिएको एक दृश्य छ । त्यो नम्बर निर्माण टिमले फिल्ममा आफूखुसी राखेको थियो । फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएपछि त्यो नम्बर साहित्यकार श्रेष्ठको रहेको खुलेको हो । अहिले उक्त नम्बरसहितको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
साहित्यकार श्रेष्ठले फिल्ममा आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारिरिक रुपमा गम्भीर हानी पुगेको भन्दै उचित क्षतिपूर्तिको माग दाबी गरेका छन् । उनका अनुसार ओटीटी प्लेटफर्मबाट नम्बर हटाउन आग्रह गर्दा पनि हटाइएको छैन । दिनमै सयौं नम्बरबाट फोन आउँदा आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर परेको रिट निवेदनमा उल्लेख छ ।
साहित्यकार श्रेष्ठले रिट निवेदनमा अनमोलसहित निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति (सेन्सर बोर्ड), निर्माता लगायतलाई विपक्षी बनाएका छन् । उनीहरूलाई कानून अनुसार सजायको माग गरिएको छ ।

