Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुर्खेतमा ‘सतीदेवी’को विशेष शो, वीरेन्द्रनगरकी मेयर भन्छिन्, ‘मन गह्रुङ्गो भयो’

फिल्मीखबर, काठमाडौं, 2025/06/22

Laxman Subedi

 

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘सतीदेवी’ व्यावसायिक रुपमा सफल हुन नसकेको भए पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको थियो । यही कारण हल रिलिजपछि विभिन्न संघ-संस्थाहरुले फिल्मको विशेष शो आयोजना गरिरहेका छन् । यसैबीच, शनिबार सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली नारी सम्मान-०८२’ समारोहमा पनि फिल्म देखाइएको छ ।

लक्ष्मी चलचित्र मन्दिरमा आयोजित विशेष शोमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, प्रदेशकी जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढा, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल (भण्डारी)सहित चार सयभन्दा बढी स्थानीयको उपस्थिति रहेको थियो । फिल्म हेर्ने क्रममा अधिकांश दर्शक भावुक भएका थिए । केही महिलाहरु भक्कानिएर समेत रोएको जनाइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाकी मेयर ढकालले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्म हेरेपछि मन गह्रुङ्गो भएको बताएकी छन् । उनले लेखेकी छन्, ‘फिल्म हेरेपछि मन गह्रुङ्गो भयो । भावुक भएँ । महिलाले भोगेका समस्या, समाजमा गरिने व्यवहार, छोरीहरुले भोग्नुपरेका चुनौती सबैलाई नजिकबाट महसुस गरायो । फिल्म सकिएपछि उठ्न नै सकिएन, एकछिन मौन भएर बस्न मन लाग्यो ।’

उनले फिल्म उत्कृष्ट लागेको भन्दै सिक्वेलमा छोरीहरुको सफलताको कथा ल्याउन निर्देशकलाई आग्रह गरेकी छन् । उनले अगाडि लेखेकी छन्, ‘फिल्ममा ‘टू वी कन्टिन्यू’ लेखिएको थियो । विजया बुढा (मन्त्री) र मैले निर्देशक भाईलाई ‘अब संघर्षको मैदानमा उत्रिएका छोरीहरूको सफलताको कथा आउनुपर्छ है’ भन्यौं । निर्देशकले मुसुक्क हाँसेर टाउको हल्लाउँदै सहमति जनाउनुभयो ।’

निर्देशक सुवेदी स्वयंको लेखन रहेको ‘सतीदेवी’मा मलिका महतको शीर्ष भूमिका छ भने सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, बाल कलाकारहरू हर्षिका वली, मञ्जिला बानियाँ लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई यस वर्ष रि-रिलिज गर्ने योजनामा निर्देशक सुवेदी छन् । फिल्मले अंश र वंश धान्न छोरा नै चाहिन्छ भन्ने पितृसत्तात्मक सोचप्रति प्रश्न गरेको छ ।