.jpg)
फिल्म ‘प्रेमगीत ३’बाट डेब्यु गरेका अभिनेता हुन्, मनिष राउत । तर, यो फिल्म सफल भए पनि उनी चर्चामा आउन सकेनन् । यसपछि उनले आफ्नै निर्देशनमा ‘शमशेर’ बनाउने घोषणा गरेका थिए । तर, यो फिल्म बन्नै सकेन । निर्देशक बन्ने सपना पूरा नभए पनि उनले एसोसिएट निर्देशक (निर्देशकको सहायक) भएर फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरु’मा काम गरेका छन् ।
यो फिल्ममा मनिष एसोसिएट निर्देशक मात्रै हुन्, अभिनय गरेका छैनन् । यसैले उनले अब अभिनय नै छाडेका त होइनन् भन्ने प्रश्न उब्जिएको छ । यसबारेमा उनले भनेका छन्, ‘मैले अभिनय छाडेको छैन । निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त गरेँ, अब निर्देशनमा पनि विस्तारै अनुभव बटुल्दै जाउँ भन्ने सोच हो । यसैले अभिनय र निर्देशनलाई सँगैसँगै अगाडि बढाउन खोज्दैछु ।’
अभिनयमा सहयोग पुग्ने सोचले निर्देशनको अनुभव बटुल्न लागेको उनको भनाइ छ । ‘निर्देशन गर्ने चाहना हरेक अभिनेताको हुन्छ । यसैले अभिनय र निर्देशनलाई सकेसम्म सँगै अगाडि बढाउन खोजेको हुँ । आगामी दिनमा मलाई अभिनयमा पनि देख्न पाइनेछ,’ उनले भने । ‘जनै हराएको मान्छे’को टिम र कथा एकदमै राम्रो भएकाले यसमा फरक विभागमा रहेर काम गरेको मनिषले बताए ।
आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा लगायतको अभिनय रहेको छ । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको फिल्मका निर्माताहरुमा कमल न्यौपाने र विमल न्यौपाने रहेका छन् । यसमा नवीन गुरुङको डीओपी छ ।

