Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म आफूलाई ‘स्टार’ मान्दिनँ : वर्षा सिवाकोटी

फिल्मीखबर, काठमाडौं, 2025/06/22

barsha siwakoti

 

गत शुक्रबार फिल्म ‘माग्ने राजा’को पोस्टर सार्वजनिक कार्यक्रममा अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’को पारिश्रमिकबारे निर्माताले खुलासा गरेपछि त्यसले फिल्म क्षेत्रमा नै तरंग ल्याएको छ । उनलाई फिल्मका लागि ६१ लाख पारिश्रमिक दिएको निर्माता मुनाल घिमिरेको दाबी छ । तर, यही फिल्ममा केदारको जोडी भएर काम गरेकी अभिनेत्री वर्षा सिवाकोटीको पारिश्रमिक भने खुलाइएन ।

केदारको पारिश्रमिक गर्वसाथ भन्न सक्ने निर्माताले वर्षाको पारिश्रमिक खुलाउन नचाहनुको पछाडि एउटै कारण छ, ‘केदारभन्दा आधा कम पारिश्रमिक पनि वर्षालाई दिइएको छैन ।’ त्यसो त नेपाली अभिनेत्रीहरूको यो नियति नै बनिसकेको छ । कथित ‘स्टार’ (पुरुष कलाकार)का लागि पाारिश्रमिकमै आधा करोड खर्चिने निर्माताहरूले अभिनेत्रीलाई दिने बेलामा भने मुठ्ठी कस्ने गरेका छन् ।

‘माग्ने राजा’को पोस्टर सार्वजनिक कार्यक्रममा केदारको पारिश्रमिकबारे चर्चा भइरहँदा पत्रकारले वर्षालाई सोधेका थिए, ‘महिला कलाकारहरूले महँगो पारिश्रमिक लिएको चर्चा चाहिँ किन हुँदैन ?’ यसको जवाफमा उनले नेपालमा मात्र नभइ यो अवस्था विश्वमै रहेको तर्क गरिन् । महिला कलाकारहरूले पारिश्रमिकभन्दा कामलाई सबैभन्दा बढी महत्व दिएको हुनसक्ने उनको विश्लेषण छ ।

वर्षा भन्छिन्, ‘नेपाली फिल्म क्षेत्रमा मात्र होइन, विश्वमै जति पनि पारिश्रमिकको समाचार आउँछ, त्यो पुरुष कलाकारहरूकै बढी आउने गर्छ । पारिश्रमिकको विषयमा त्यतिधेरै महिला कलाकारले कुरा राख्नुभएको छ जस्तो पनि लाग्दैन । सायद त्यो महत्त्वपूर्ण नठानेको पनि हुनसक्छ । हाम्रो लागि पारिश्रमिकभन्दा अभिनय, अवसर र टिमवर्क पो ठूलो हो कि ! त्यो कारणले पनि हुनसक्छ ।’

आफूले पैसाका लागि कहिल्यै फिल्म नगरेको वर्षाको भनाइ छ । न त पारिश्रमिकबारे खुलासा गर्न मनपर्ने उनी बताउँछिन् । भन्छिन्, ‘फिल्ममा कति पैसा लिएँ भनेर मलाई बोल्नै मन लाग्दैन । मैले पैसाका लागि फिल्म गरेको पनि छैन । मैले आजसम्म कुनै मेकरसँग पैसाको डिमान्ड गरेको छैन । यति र उति लिएँ पनि भनेको छैन । ‘माग्ने राजा’मा मैले जति पाएको छु, त्यसमा खुसी छु ।’

कार्यक्रममा उनलाई पत्रकारले अर्को प्रश्न गरे- ‘जति पारिश्रमिक पाइरहनुभएको छ, त्यो हिसाबले आफूलाई ‘स्टार’ मान्नुहुन्छ ?’ उनले तुरुन्तै जवाफ फर्काइन्, ‘म आफूलाई ‘स्टार’ मान्दिनँ । म राम्रो कलाकार हुन प्रयास गरिरहेको छु । ‘स्टार’ के हो भन्ने मलाई थाहै छैन । र, यो ‘ट्याग’ कसले र किन दिन्छ भन्ने पनि थाहा छैन । कसैलाई पैसाले त कसैलाई अभिनयले ‘स्टार’ बनाएको होला ।’