Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म मात्र गर्नेभन्दा आफू लोकप्रिय रहेको पलको तर्क

फिल्मीखबर, काठमाडौं, 2025/06/20

paul shah

 

निसन्देह ! अभिनेता पल शाहको दर्शकमाझ ठूलो लोकप्रियता छ । त्यो लोकप्रियता उनलाई फिल्मभन्दा बढ्ता म्यूजिक भिडियोले नै दिलाएको हो । उनले खेलेका भिडियोहरु कहिल्यै नेपाली फिल्म नहेरेका दर्शकले समेत हेरेका छन् । भिडियोबाटै उनी देशको दूरदराजसम्म परिचित छन् । यसैले त उनी जहाँ जान्छन्, त्यहाँ उनको एक झलक हेर्न दर्शकहरूको ठूलो भीड उर्लिने गरेको छ ।

तर, भिडियोले उनलाई लोकप्रिय बनाए पनि त्यसले उनको फिल्म करिअरलाई भने असर गरिरहेको छ । उनका भिडियो दिनहुँ सार्वजनिक हुन्छन् । जसले गर्दा उनका फिल्मका गीतलाई समेत दर्शकले म्यूजिक भिडियो ठान्ने अवस्था सिर्जना भएको छ । र, भिडियोमा धेरै देखिँदा उनका फिल्मप्रति नै दर्शकको रुचि घटेको छ । उनका पछिल्ला फिल्मको असफलताले पनि यो दर्शाउँछ ।

तर, पल भिडियोले आफ्नो फिल्मी करिअरलाई असर गरेको स्वीकार्न तयार छैनन् । बरु बाटोमा हिँड्दा पनि फिल्म मात्र गर्नेलाई भन्दा आफूलाई दर्शकले बढी चिन्ने गरेकोमा दंगदास छन् । बिहीबार एक कार्यक्रममा त उनले हाक्काहाक्की नै भनिदिए, ‘फिल्म हलमा हेर्ने कति कलाकारलाई बाटोमा हिँड्दा धेरैले चिन्दैनन् । को आयो, को गयो थाहा हुन्न । तर, मलाई बोर्डरमा पनि चिन्छन् ।’

पलको यो भनाइबाट के प्रष्ट हुन्छ भने उनले आफू चिनिनुलाई नै सबैभन्दा ठूलो उपलब्धि मानेका छन् । र, यसैका लागि भिडियो गरिरहेका हुन् । उनी प्रष्ट छन्, ‘फिल्म मात्र गरेर कसैले चिन्दैनन् ।’ तर, बाटोदेखि बोर्डरसम्म चिनिएका उनै पलका फिल्म रिलिज हुँदा हलमा दर्शकको खडेरी किन हुन्छ ? उनको लोकप्रियता निःशुल्क युट्युबमा हेरिने भिडियोमा मात्र सीमित हो ? प्रश्न उठ्छ नै ।

बिहीबारको कार्यक्रममा पलले फिल्म मात्र गर्ने कलाकारले म्यूजिक भिडियो नगर्नुको कारण अफर नआएर रहेको विवादास्पद अभिव्यक्ति समेत दिएका छन् । उनले भनेका छन्, ‘मलाई भिडियोबाट अफर आइरहेको छ, यसैले काम गरिरहेको छु । अरुलाई अफर आएको भए अरुले पनि खेल्नुहुन्थ्यो । एउटा भिडियोबापत ४/५ लाख रूपैयाँ दिन्छु भनेर कसैले भन्यो भने कसले खेल्दैन ?’

यो अभिव्यक्तिबाट पलले भिडियोमा आफ्नो ठूलो डिमान्ड रहेको तर फिल्म मात्र गर्ने कलाकारलाई भिडियोका लागि कसैले ४/५ लाख अफर नगरेको प्रष्ट रुपमा भन्न खोजेका छन् । ४/५ लाख दिए भिडियो गर्न जो पनि तयार हुने उनको आशय छ । उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा बहस र विवाद नै सुरू भएको छ । धेरैले उनी आत्मरतिमा रमाइरहेको टिप्पणी गरेका छन् ।