आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक उक्त गीतमा फिल्मका मुख्य जोडी पल शाह र नीति शाहबीचको प्रेमालाप देख्न सकिन्छ । उनीहरुको एकअर्काप्रति प्रेम र समर्पणको भाव गीतमा प्रस्तुत छ ।
सार्वजनिक गीतमा शरद हुमागाईं र विशाखा शाहीको स्वर रहेको छ भने सुरेश अधिकारीको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा प्रप्सहरुको प्रयोग सुन्दर देखिन्छ । खोलाको बगरमा बनाइएको सेट पनि आकर्षक छ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा पल र नीतिसहित अर्जुन जंग शाही, बेनिशा हमाल, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, बाल-कलाकार सारा शर्मा लगायतको अभिनय रहेको छ ।
चुम्बन जंग शाहीको निर्माणमा बनेको फिल्ममा दिपेन बस्न्यातको डीओपी, भुपेन्द्र अधिकारीको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत तथा समीर मियाको भीएफएक्स छ ।
गत साता सार्वजनिक टिजरमार्फत फिल्मको कथा देउकी प्रथामा आधारित रहेको खुलाइएको थियो । तर, फिल्ममा यो विषय मात्र नरहेको निर्देशक प्रतिकको भनाइ छ । गीत सार्वजनिक कार्यक्रममा उनले भने, ‘देउकी प्रथाको सानो प्लट मात्र टिजरमा देखाएका छौं । यसमा देउकीको विषय मात्र छैन, अन्य धेरै कुरा छन् । धेरै सस्पेन्स छ । दर्शकले फरक कथाको अनुभूति गर्न पाउनेछन् ।’

