पछिल्लो समय नेपाली फिल्ममा विदेशी कलाकारलाई खेलाउने होडबाजी नै चलेको छ । विदेशमा फिल्म चलाउनका लागि नेपाली मेकरहरुले यो उपाय अपनाएको पाइन्छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय फिल्म (साउथ)का नाम चलेका कलाकारहरुको पल्टन नै थियो । ‘कोहिनूर’, ‘भूठान’, ‘देववाणी’ जस्ता फिल्ममा पनि विदेशी कलाकारले काम गरेका छन् ।
अब अर्को नयाँ फिल्म ‘जहाजैमा’मा पनि विदेशी कलाकारलाई देख्न पाइनेछ । यसमा फिलिपिनी मुलकी जापानी अभिनेत्री रजेल इचिमियाले अभिनय गर्न लागेकी हुन् । कृषा चौलागाईंको निर्देशन रहने यो फिल्मका लागि रजेलसँग गत महिना जापानमा निर्माता कम्पनी ‘यूएनए प्रोडक्सन’ले लिखित सम्झौता गरेको थियो । बिहीबार पोस्टरमार्फत फिल्ममा उनको प्रवेशबारे जानकारी गराइयो ।
रजेलले केही जापानी फिल्म तथा सिरिजमा काम गरेकी छन् । उनले अभिनय गरेको फिल्म ‘बी माई गेस्ट, बी माई बेबी’ (२०२३) चर्चित मानिन्छ । यसैबाट उनले अभिनय करिअर सुरु गरेकी थिइन् । यसबाहेक उनले फिल्म ‘एनजेल डे मेसाज मामा, सान ?’ (२०२३) र सिरिज ‘टोक्यो सलाद बउल’ (२०२५)मा काम गरेकी छन् । अब ‘जहाजैमा’बाट उनले नेपाली फिल्ममा डेब्यु गर्नेछिन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा सक्रिय रहेकी रजेलले त्यहाँ आफ्ना विभिन्न गतिविधिका तस्वीर तथा मिडियोहरु सेअर गरेकी छन् । फोटोसुटका तस्वीरहरुमा उनी आकर्षक देखिएकी छन् । उनको कोरियन लुक्स छ । नेपाली फिल्ममा यो लुक्सका अभिनेत्रीहरु सीमित छन् । यसैले रजेललाई पर्दामा हेर्न नेपाली दर्शकलाई रोचक हुनेछ । उनको सामाजिक सञ्जालमा फलोअर्स भने न्यून छन् ।
‘जहाजैमा’लाई यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्नेछन् । फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उनको भनाइ छ । फिल्ममा रजेलबाहेक अरु कलाकार निश्चित भएका छैनन् । सन् २०२६ मा रिलिज लक्ष्य राखिएको फिल्मको छायांकन आगामी भदौबाट गरिनेछ । नेपाल, जापान र फिलिपिन्समा फिल्मको छायांकन हुने जनाइएको छ ।

